Logo

ठूलीदह ओझेलमा



रुकुम, पश्चिम । धार्मिक आस्था र प्राकृतिक सुन्दरता बोकेको भए पनि रुकुम पश्चिमस्थित ठूलीदह ओझेलमा परेको छ ।

प्रचारप्रसार तथा संरक्षणको अभावमा ठूलीदह ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । वरिपरि डाँडाकाँडाले घेरेको बीचमा समथल मैदान, त्यसमा पनि दह । प्रकृतिले नै दिएको यस्तो उपहारको अवलोकण गर्न पाए कसको मन पो नरमाउँला र ? ठूलीदहमा तीन वटा दह छन् । सबैभन्दा तल्लो भागमा स्यानी दह, बीचमा छिप्री दह र सबैभन्दा माथिल्लो भागमा ठूलीदह ।

प्रचुर सम्भावना हुँदाहुँदै पनि ठूलीदहको संरक्षण तथा प्रचारप्रसारमा भने अहिलेसम्म कुनै निकायले पहल गरेको पाइँदैन । यो स्थान कति उचाइमा छ, कति क्षेत्रफलमा फैलिएको छ र यहाँको इतिहास कसैले पनि खोतलेका छैनन् । स्थानीय सरकारसमेत यसबारेमा अनविज्ञ छ । यस ठाउँको प्रवद्र्धनका लागि विशेष गरी स्थानीय तहले ध्यान दिनुपर्नेमा स्थानीयवासीको भनाइ छ । प्रकृतिले नै दिएको सम्पदालाई संरक्षण गर्न नसकेको स्थानीय ५५ वर्षीय रतिराम गिरीले बताउनुभयो । योजना बनाएर दहको संरक्षणमा स्थानीय सरकार लाग्नुपर्नेमा उहाँको जोड छ ।

सदरमुकामबाट नजीकै रहे पनि धेरैलाई यस ठाउँका बारेमा जानकारी नै छैन । जानकारी भएका पनि सडकको अभावमा ठूलीदहको अवलोकणका लागि पुग्ने गरेका छैनन् । मध्यपहाडी लोकमार्ग हुँदै सदरमुकाम मुसीकोटबाट गाडीमा साँख गाउँ पुगेर त्यहाँबाट करीब डेढ घण्टाको पैदल उकालो हिँडेपछि ठूलीदह पुग्न सकिन्छ । साँख गाउँबाट ठूलीदहसम्म पुग्नका लागि सडक बन्न सके धेरै सहज हुने स्थानीयवासी बताउँछन् ।

संरक्षणको पहल थालिँदै

ठूलीदहको संरक्षणको प्रयास भने अब थालिने भएको छ । पर्यटकीय सम्भावना बोके पनि प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको ठूलीदहको स्थानीय तहले संरक्षण थाल्न लागेको हो । मुसीकोट नगरपालिकाले नगरको समग्र विकासका लागि तयार पारेको गुरुयोजनामा ठूलीदहको संरक्षणलाई जोड दिइएको छ ।

ठूलीदह पर्यावरणीय पर्यटन क्षेत्रका रुपमा गुरुयोजनामा समावेश गरिएको वडाध्यक्ष हिमबहादुर पाण्डेले जानकारी दिनुभयो । संरक्षणका लागि ठ्याक्कै के गर्ने भन्ने अझै निक्र्यौल भइनसकेको उहाँको भनाइ छ तर संरक्षणको प्रयास भने शुरु भइसकेको उहाँले बताउनुभयो । दहसम्म पुग्नका लागि सबैभन्दा महत्वपूर्ण सडक निर्माणको काम चलिरहेको अध्यक्ष पाण्डेको भनाइ छ ।

उहाँका अनुसार ठूलीदहलाई जोड्ने मध्यपहाडी लोकमार्ग–चक्चारी–किरिङकिरे सडकखण्ड निर्माणका लागि अघिल्लो आवमा रु पाँच लाख खर्च भएको र चालू आर्थिक वर्षका लागि रु तीन लाख विनियोजन गरिएको छ । त्यस्तै दहस्थलमा सिद्ध मन्दिर निर्माणका लागि रु एक लाख विनियोजन गरिएको उहाँको भनाइ छ ।

निकै रमणीय रहे पनि अहिलेसम्म उल्लेख्यरुपमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने नसकिएपछि वडाले विशेष पहल थालेको वडासदस्य तोकबहादुर खत्रीले बताउनुभयो । कमसेकम यहाँको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सकिए ठूलो उपलब्धि हुने उहाँको भनाइ छ ।
–––



प्रतिक्रिया दिनुहोस्

Screenshot