काठमाडौं, १५ असोज । सत्तारुढ दल नेकपाका नेता एवम् प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र भएको बताउँदै एकपटक सबै नेपालीलाई हेरिदिन आग्रह गरेका छन् ।
आईतबार सुन्धारास्थित् सिभिल मलमा रहेको क्वि.एफ.एक्स हलमा पुगेर नेता पौडेलले अनुराग हेरेका हुन् । अनुराग हेरेपछि पत्रकारसँग संक्षिप्त
कुराकानी गर्दै नेता पौडेलले पत्रकार धमलाले बनाएको चलचित्र अनुराग सम्पूर्ण नेपालीहरुले एकपटक हेर्नैपर्ने चलचित्र भएको पनि बताए ।
चलचित्र अत्यन्तै राम्रो बनेको नेता पौडेलले प्रतिक्रिया दिए । उनले चलचित्रमा कलाकारहरु सबै नयाँ हुँदापनि यस्तो दमदार र जीवन्त गर्नु धेरै राम्रो भएको बताए । अनुरागले युवा पुस्ताको मन जित्ने उनको विश्वास छ ।
सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।
निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।