Logo

बधशाला अनुगमन गरिएकोमा व्यवसायीको आपत्ति



असोज १५, काठमाण्डौ । सरकारले असोज ५ गते ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु बधशालाको मासु बिक्रिवितरणमा प्रतिवन्ध लगाएको थियो । स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि प्रतिबन्ध लगाइएको हो ।

मासु व्यवसायीहरुले पटक पटक उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने गरेका छन् । तिनै माशु व्यवसायीहरुले सरकारले अनुगमनको नाममा आफूहरुलाई दुःख दिएको गुनासो गरेका छन ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले असोज ५ गते बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालित ५ वटा बधशालाको अनुगमन गरेको थियो । अनुगमनको क्रममा केही बधशाला दर्ता पनि नभइ सञ्चालन भएको, सरसफाइमा ध्यान नै नदिएको, रागाँ भनेर मैसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको पाइएको थियो । यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि पालना नगरेको, तालिम दिएर पनि त्यो अनुसार नगरेको पाइएपछि मासु बिक्रि वितरणमा रोक लगाइएको थियो ।

अनुगमनका क्रममा रंगेहात गलत गरिरहेको फेला परे पनि मासु व्यवसायीहरुले भने सरकारले अनुगमनको नाममा आफूहरुलाई दुःख दिएको गुनासो गरेका छन । माशु व्यवसायमा आवद्ध नेपाल खड्गी सेवा समिति, पशु बधशाला व्यवसायी संघ, चौपाया खरिद विक्री सेवा संघलगायतका संस्थाहरुले सोमबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी सरकारले बजार अनुगमनको नाममा दुःख दिएको गुनासो गरेका हुन । त्यस क्रममा उनीहरुले नकारात्मक ढंगले प्रचार गरेर आफूहरुलाई दुःख दिने काम नगर्न पनि सरकारलाई चेतावनी दिएका छन ।

त्यसैगरी चौपाया खरिद विक्री सेवा संघका महासचिव दिपक थापाले राज्यले गैर जिम्मेवार ढंगले बजार अनुगमनको नाममा आफूहरुलाई मारमा पारेको आरोप लगाए । खसी, बोका बढि वा घटी जे भएपनि राज्यद्धारा नै आफूहरुले सास्ती व्यहोर्नु परेको पनि संघका महासचिव थापाको गुनासो छ ।

मानव स्वास्थ्यका लागि हानीकारक हुने खालका पशु वध गर्ने, सरसफाईमा ध्यान नदिने र बध गरिसकेपछि त्यसको व्यवस्थित भण्डारण नगर्ने खालका समस्या भेटिने गरेको छ । तर मौसमी अनुगमन प्रभावकारी हुन सकेको छैन भने सरकारले दिएको दिएको निर्देशन मासु व्यवसायीहरुले पालना पनि गर्दैनन् । समस्या समाधानका लागि दीर्घकालिन योजनाको आवश्यकता छ ।



प्रतिक्रिया दिनुहोस्