Logo

डा. केसीलाई अध्यक्ष तिमिल्सिनाको जवाफ : अनशन बस्दैमा माग पूरा गर्न सकिदैन



-गणेश तिमिल्सिना, अध्यक्ष, राष्ट्रियसभा

देशको राजनीति हेर्दा अन्योल बढ्दै गएको हो ?
लथालिङ्ग नै भएको त छैन । दुई तिहाई बहुमतको सरकारसँग जनताको आशा अत्याधिक छ । जनताको आशाअनुसार काम हुन भने नसकेकै हो ।

हत्या र बलात्कार जस्ता अपराधमा संलग्नलाई कारबाही गर्न सकेन नि ?
निर्मला पन्त प्रकरणको कुरा गर्नुभएको होला । यो अलि बढि नै संवेदनशील छ । गहिराईमा जाँदा पनि नतिजा निस्किएको छैन । अरु धेरै घटनामा संलग्नलाई त कारबाहीको दायारमा ल्याउन सकिएको छ । त्यसैले एउटा घटनालाई जोडेर सबै असफल भयो भन्न मिल्दैन ।

महङ्गी र कालोबजारी पनि रोकिएन नि ?
महङ्गी बढ्नुमा आन्तरिक र बाह्य कारणहरु पनि छन् । अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ । यसको खास कारण अन्तराष्ट्रिय बजारमा मूल्य बढेकाले हो । इन्धनको मूल्य बढेपछि यातायातका साधनको भाडा पनि बढ्न जान्छ । यि कुरा सरकारले गरेको होइन । गलत प्रचार गर्नु हुँदैन । तर सरकार संवेदनशील पनि बन्नुपर्छ ।

सरकार असफल हुन लाग्यो भन्ने टिप्पणी हुन थालिसक्यो । तपाईलाई के लाग्छ ?
सरकारले धेरै राम्रा काम पनि गरेको छ । राष्ट्रिय महत्वका धेरै विषयहरु सरकारले उठाएको छ । समग्रमा हेनुपर्छ । केही समय पर्खनुपर्छ । रातारात जादुको छडीले झैँ त केही पनि हुँदैन नि ।

देशमा समस्या धेरै छन् । यस्तो अवस्थामा प्रधानमन्त्री केपी ओली विदेश भ्रमणमा हुनुहुन्छ । देशको समस्या ठूलो कि विदेश भ्रमण ?
संयुक्त राष्ट्रसंघको महासभामा जाने कुरालाई त विदेश भ्रमणको रुपमा मात्रै लिनु भएन नि । कतै जानै नहुने भन्ने त हुँदैन नि । रातदिन यहीँ बसेर मात्रै हुन्छ भन्ने पनि होइन । काम गर्ने सिस्टम त छदैँ छ नि । कहिलेकाँही विभिन्न देश जानुपर्छ । राष्ट्रको प्रतिनिधित्व गरेर सम्बन्ध पनि बढाउनुपर्छ । सहयोगको आदान प्रदान र आफ्ना नीतिहरु बताउनु पनि पर्छ । विदेश गएको कुरालाई नै ठूलो इस्यु बनाउनु हुँदैन । सरकारले गर्नुपर्ने काम गरिरहेकै छ । निराश भइहाल्नुपर्ने अवस्था छैन ।

तर धेरै अपेक्षा गर्न सकिने अवस्था पनि देखिएन नि ?
जनताको अपेक्षाहरु सम्बोधन हुनासाथ सबै कुरा राम्रो देखिन्छ । अपेक्षाअनुसार कामको गति नआएको मात्रै हो ।

बजेट अधिवेशन केही दिनअघि मात्रै सकियो । यो अधिवेशन सफल भयो त ?
बजेट अधिवेशन शतप्रतिशत सफल भएको छ । मौलिक हकसँग सम्बन्धित सम्पूर्ण कानुनहरु निर्माण भएको छ । संविधानअनुसार अनुसार अरु कामहरु पनि गर्छौँ ।

चिकित्सा शिक्षा विधेयक अन्योलमा छ । डा. गोविन्द केसीले आफूसँग भएको सहमति कार्यान्वयन भएन भनेर फेरी अनशन बस्ने चेतावनी दिनुभएको छ ?
त्यो त संसदीय प्रक्रियाअनुसार समितिमा छलफल हुनुपर्यो । बाहिर बस्यो बसेर अहिलेको अहिल्यै खोजेर त हुँदैन नि । कोही झुण्डिन्छु भन्ने कोही अनशन बस्छु भन्न थालेर विधि र प्रक्रिया मिच्न त भएन नि । प्रक्रियाअनुसार काम गर्छु भन्दा गर्न नपाउने ? केसीलाई अनशन बस्ने अधिकार छ । अरु पनि अनशन बस्न पाउँछन् । तर काम प्रक्रियाअनुसार नै हुन्छ । के अहिले नै देश सक्किने अवस्था आएको छ र ?

त्यसो हो भने अहिले नै चिकित्सा शिक्षा विधेयक पास हुँदैन ?
अब हिउँदे अधिवेशन सुरु भएपछि हुन्छ । प्रत्रियाअनुसार सबै काम हुन्छ । तर कोही अनशन बस्दैमा माग पूरा गर्न सकिदैन ।



प्रतिक्रिया दिनुहोस्