काठमाडौं, १६ असोज । नेपाल बायुसेवा निगमले दाङमा सफल परीक्षण उडान गरेको छ । काठमाडौंबाट विहान ९ बजे उडेको जहाज १० बजेर १५ मिनेटमा दाङमा अवतरण गरेको पाईलट उद्धव घिमिरेले जानकारी दिए ।
लामो समय बन्द अवस्थामा रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा दशैंलाई लक्षित गर्दै निगमले आज परीक्षण उडान गरेको हो ।हप्तामा २ वटा फ्लाईट गर्ने योजना रहेको निगमले दशैं अगाडीनै नियमित उडान गर्ने जानकारी दिएको छ ।
निगमको सानो जहाजले गरेको परीक्षण उडानमा पाइलट, प्राविधिक लगायत स्थानीय जनप्रतिनिधिहरु समेत सहभागी भएको पाईलट घिमिरेले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनका अनुसार परीक्षण सफल भएपछि दशैं अगाडिबाटै वाई १२ जहाजबाट काठमाडौं भैरहवा दाङ हप्तामा दुईपटक उडाउने तयारी गरिएको छ ।
नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले पदभार ग्रहण गरेपछि निगम सुधारउन्मुख छ । उनले लामो समयसम्म हुन नसकेका कामहरु गरेर देखाईसकेका छन् । खरेलको कामको सकारात्मक प्रभावकै रुपमा आजको परीक्षण उडानलाई लिन सकिन्छ ।
निगमको कार्यकारी भुमिकामा यसअघि महाप्रबन्धक सुगतरत्न कंसाकार रहँदै आएकोमा मन्त्रिपरिषद्को बैंठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ ।