Logo

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या



बैतडी, २५ असोज / स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसके पनि बैतडीका स्थानीय तहले अझै पनि आफ्ना भवन निर्माण गर्न सकेका छैनन् ।

धेरैजसो स्थानीय तहमा भौतिक संरचनाको अभावमा काम सञ्चालन गर्न अप्ठ्यारो भएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाको आफ्नै भवन छ भने सिगास र शिवनाथ गाउँपालिकाको भवन निर्माण भएसँगै तीन स्थानीय तहसँग आफ्नै भवन भएका छन् । जिल्लाका सात स्थानीय तह अझै पनि भाडाका भवनमा कार्यालय सञ्चालन गरिरहेका छन् ।

नगरपालिकाकै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको जनप्रतिनिधिले बताएका छन् । जिल्लाको मेलौली, पुर्चौडी र पाटन नगरपालिकाका साथै अन्य गाउँपालिकामा पनि भवन अभाव छ ।

भवन अभावमा नगरपालिकाभित्र शाखाहरू नै स्थापना गर्न नसकिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताउनुभयो । जिल्लामा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्