Logo

विद्यालय भवनमा डोजर, सडकमा कक्षा सञ्चालन



काठमाडौं, ९ कात्तिक । वडाध्यक्षको आदेशमा सडक विस्तारका लागि विद्यालयको भवन भत्काएको भन्दै ६ सय विद्यार्थीलाई बिहीबार सडकमै पढाइएको छ । जनकपुर–२१ कुर्थास्थित राजर्षि जनक माविका शिक्षक तथा विद्यार्थीले सडकमै डेस्क–बेन्च र सेतोपाटी राखेर पठनपाठन गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

विद्यालय भवन सात महिनाअघि नै भत्काइएको हो । वडाध्यक्ष रामेश्वर महासेठको आदेशमा सडक विस्तारका लागि भवन भत्काएपछि भवन अभाव हुनुका साथै धुलोका कारण पठनपाठनमा समस्या भएको प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले बताए । उनले भने, ‘धूलो र हल्लाले पढाइमा बाधा त भयो नै, विद्यालयको भवन भत्काएर विकल्पसमेत नसोचिएकाले बाध्य भएर विरोध गर्नुपरेको हो ।’

कक्षा सञ्चालनका लागि सडकको दुवैतर्फ ढाट राखेर अवरोध गरिएको थियो । एकपटकमा दुईवटा कक्षा सञ्चालन गरिएको थियो । सडकमै पढाइएपछि रमित हेर्नेको भिड लागेको थियो ।

विद्यालयलाई हाल २३ कोठा आवश्यक रहेको प्रधानाध्यापक यादवले बताए । उनका अनुसार कक्षाकोठाका लागि १५ तथा शिक्षकहरू, प्रशासन, लेखा, प्रयोगशाला, कम्प्युटर कक्षालगायतका लागि थप आठ कोठा चाहिन्छ । अहिले कक्षाकोठाकै लागि कोठा नपुगेको उनले बताए ।

४२ फिट चौडा सडकलाई विद्यालयलाई समाप्त गर्ने मनसायले ७० फिट बनाइएको प्रधानाध्यापक यादवको दाबी छ । उच्च अदालत जनकपुरबाट विद्यालयको भवन नभत्काउन ‘स्टे अडर’ आए पनि वडाध्यक्ष आफैँ उभिएर भत्काइएको उनले बताए ।

यता वडाध्यक्ष महासेठले भने प्रधानाध्यापक आफैँले भवन भत्काउन लगाएको दाबी गरे । उनले भने, ‘मेरो परिवारले विद्यालयका लागि जग्गादान गरेको छ, म नै कसरी विद्यालय भत्काउँछु रु प्रधानाध्यापक आफैँले ७० हजार रुपैयाँमा टेन्डर लगाएर विद्यालय भत्काएको हो ।’ यादवले विद्यालयका कुनै पनि निर्णयमा आफूसँग समन्वय नगरेको पनि बताए ।

तर, स्थानीयले भने वडाध्यक्षकै पहलमा भवन भत्काइएको बताएका छन् । केही दिनअघि सो ठाउँका स्थानीयले वडाध्यक्षविरुद्ध प्रदर्शन गर्दै जनकपुर उपमहानगरपालिका घेराउ पनि गरेका थिए ।

वडाध्यक्ष रामेश्वर महासेठ र प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले एक–अर्कालाई विद्यालय भवन भत्काएको आरोप लगाएका छन् । सडक विस्तारको नाममा वडाध्यक्षले नै विद्यालयको भवन भत्काएको प्रधानाध्यापक यादवको आरोप छ । तर, वडाध्यक्ष महासेठले भने प्रधानाध्यापकले नै ठेक्का दिएर भवन भत्काउन लगाएको दाबी गरेका छन् । तर, स्थानीयले भने वडाध्यक्षकै पहलमा भवन भत्काइएको बताए ।



प्रतिक्रिया दिनुहोस्