Logo

सुदुरपश्चिम प्रदेशमा स्क्रबटाईफसका बिरामी बढ्दै, माहामारीको खतरा



काठमाण्डौ । कैलाली लगायत सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा स्क्रब टाईफस का बिरामी बढ्न थालेका छन् । यसको संक्रमणबाट डडेल्धुरामा एक जनाको मृत्यु समेत भईसकेको छ ।

स्क्रबटाइफसको प्रकोप वढिरहेकोले माहामारीको खतरा हुन सक्ने भन्दै बच्न सबैलाई सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।

कैलाली र कञ्चनपुरसँगै केही पहाडी जिल्लाहरुमा पनि यो रोगको सङ्क्रमण वढ्दै गएको छ । लगातार ज्वरो आइरहने, टाउको दुख्ने, पसिना छुट्ने, आँखाको डिल दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने जस्ता लक्ष्यण देखिएका विरामीहरुको जाँच गर्दा स्क्रब टाईफसका विरामीहरुको संख्या वढिरहेको पाईएको हो ।

रोगको संक्रमण भएको ५ देखि ७ दिनमा घाँटीमा रातो विमिरा देखिने र पछि त्यो विमिरा क्रमशः शरीरको अन्य भागहरुमा फैलिँदै जाने रोगको प्रमुख लक्षण हो ।

धनगढीको सेती अञ्चल अस्पताल यो बर्ष ५० जना स्क्रब टाईफसका विरामी देखिएकोमा डडेल्धुराकी २२ वर्षीया सरस्वती भट्टको मृत्यु भईसकेको छ । सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा यो रोगको प्रकोप फैलिदै गएको छ ।

स्क्रबटाईफस विरुद्ध सचेतना अभियान गएका वर्षहरुमा जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने गरेकोमा यो वर्षदेखि ती कार्यालयहरु खारेज भएका कारण सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुन सकेका छैनन् ।

समयमै अभियान सञ्चालन नगरेमा सुदुरपश्चिममा महामारीको रुपमा फैलिने खतरा वढेका र सचेत रहनुपर्ने साबिक जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ट जनस्वास्थ्य प्रमुख टंक प्रसाद चापागाईले जानकारी दिए ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पछिल्लो १५ दिनमा ७६ जना विरामीमा जाँच गर्दा ३३ जनामा यो रोगको संक्रमण देखा परेको छ । स्क्रबटाइफस रोगका बिरामीको संख्या बढेसँगै महामारीको खतरा बढेको छ । स्क्रब टाइफस रोगका बिरामीको संख्या बढे पनि नियन्त्रणका लागि उपायहरु अपनाउन ढिलाइ भइरहेको स्वास्थ्यकर्मीहरुको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्