Logo

छात्रावास भवन हस्तान्तरण



चौतारा, १२ कात्तिक / सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–५ भुलभुलेस्थित वनदेवी माविको हातामा नवनिर्मित छात्रावास भवनको उद्घाटन गरिएको छ ।

नेपाल हिल्फे वाइलग्रिस नामक जर्मनेली संस्थाले न्यूनदृष्टियुक्त छात्रछात्राका लागि निर्माण गरेको भवन आइतबार संस्थाका उपाध्यक्ष म्यान फ्रेडले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।

शुरुमा संस्थाले नै बनाइदिएको छात्रावास भवन २०७२ सालको भूकम्पले भत्केपछि हाल रु ७२ लाखको लागतमा दुईतले पाँचकोठे सुविधासम्पन्न भवन बनाइएको संस्थाका जिल्ला संयोजक श्यामराज पण्डितले बताउनुभयो ।

विद्यालयका प्राचार्य दिल कार्कीका अनुसार उक्त विद्यालयमा अन्य विद्यार्थीका साथै ११ न्यूनदृष्टियुक्त छात्रछात्रासमेत अध्ययनरत छन् । विसं २०४० को दशकदेखि कदमवासका समाजसेवी राजेन्द्र गिरीमार्फत जिल्लाको शिक्षा क्षेत्रमा लगानी गर्दै आएको सो संस्थाले नगरपालिका क्षेत्रभित्र हालसम्म सुविधासम्पन्न १८ विद्यालय भवन नर्माण गरिसकेको छ । त्यसैगरी भूकम्पले क्षतिग्रस्त ६ विद्यालयको अत्याधुनिक प्रविधिमार्फत प्रबलीकरण गरिएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्