Logo

नागरिकलाई कानूनको आधारभूत ज्ञान दिन आग्रह



सुर्खेत, १८ कात्तिक । सुर्खेत कारागारका कैन्दीबन्दीले नागरिकलाई कानूनको आधारभूत ज्ञान दिन आग्रह गरेका छन् । विभिन्न मुद्दामा सजाय भुक्तानका लागि उक्त कारागारमा रहेका कैदीबन्दीसँग आज भेटघाट गर्नुभएका कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीसँग उनीहरुले सो आग्रह गरेका हुन् । “कानून र अपराधसँग सम्बन्धित आधारभूत विषयहरू विद्यालयको पाठ्यक्रममा राख्न अनिवार्य छ”, लागुऔषध दुव्र्यसनीको मुद्दा खेपिरहेकी कैदीबन्दी तुलसी दमाईंले भनिन् ।

समाजमा कस्ता खालका गतिविधि आपराधिक मानिन्छन् र कानून के हो भन्ने विद्यालयस्तरबाटै राम्रोसँग सिकाउनुपर्ने उनको सुझाव थियो । कानून, अपराध र कारवाहीका बारेमा समाजका निरक्षर नागरिकले थाहा नपाएकै कारण आफूहरू फस्नुपरेको उनको दुखेसो थियो ।

मानव बेचबिखन मुद्दाका कैदी मीना परियारले नेपालको कानून अन्धो भइदिँदा आफूजस्ता सोझासाझाले दुःख पाउनु परेको बताइन् । प्रहरीले आफू बच्नका लागि निर्दोषलाई फसाउने गरेकोे आरोप लगाउँदै उनले जोड दिइन् ‘‘धान खाने मुसो, चोट पाउने भ्यागुतो हुने हो भने नेपालमा जस्तोसुकै कानून आए पनि सोझासाझाले न्याय पाउँदैनन् ।’’

अपहरण मुद्दाका कैदी हीरासिंह ठकुरीले अशिक्षित समाज र अविकसित देशका नागरिक आपराधिक गतिविधिका शिकार हुनु परेको बताए । सैपाल नामले चिनिने अर्का कैदीबन्दीले असल आचरण बनाउनका लागि कारागारमा ज्ञानबर्धक पुस्तकालयको आवश्यकता रहेको बताए । कानूनका बारेमा समाजका सबै वर्गले बुझ्न पाउने अधिकारलाई राज्यले व्यवहारमा लागू गर्नुपर्नेमा उनीहरूको जोड थियो ।

मन्त्री केसीले कारागारलाई बन्दीगृह नभई सुधारगृहका रुपमा स्थापित गर्न प्रदेश सरकार प्रयत्नरत रहेको बताउनुभयो । “कैदीबन्दीहरूको भोगाइबाट प्राप्त सिकाइ र बुझाइ मननयोग्य छन्,” उहाँले भन्नुभयो, “यो जनशक्तिलाई उत्पादन र आयआर्जनका काममा लगाउन सके देशका लागि हितकर छ ।”

घेराभित्रका फर्महरुमा कैदीबन्दीलाई काम लगाउन सम्भव भएको भन्दै उहाँले यही जनशक्ति परिचालन गर्नेतर्फ लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । कारागारका प्रहरी नायब निरीक्षक मानसिंह सेजुवालले ५० पुरुष र १० महिला अट्ने क्षमता भएको कारागारमा १९ महिला, दुई नाबालिका र २०३ पुरुष गरी २२५ कैदीबन्दी रहेको जनाउनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी लागुऔषध दुव्र्यसनी, बलात्कार, चेलीबेटी बेचबिखन, बहुविवाहलगायत मुद्दाका कैदीबन्दी कारागारमा छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot