Logo

भारतीय नागरिक अग्रवाललाई अनाधिकृत रुपमा दिईएको नागरिकता खारेज गर्न माग



काठमाडौं, १८ कात्तिक । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सदस्य मौलेश्वर कुमार सिंह राजपुत (पप्पु) ले अनाधिकृत रुपमा भारतीय नागरिक निरञ्जन कुमार अग्रवालले पर्सा जिल्लाबाट नेपाली नागरिकता लिएको भन्दै तत्काल उक्त नागरिकता खारेजी र दोषीलाई कडा कानुनी कारवाही गर्न माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पप्पुले पत्रकार सम्मेलन गरेर २०६३ सालपछि अनाधिकृत रुपमा गैर नेपालीलाई प्रधान गरिएको नागरिकतामाथि कडा छानविन गर्नुपर्ने माग गरेका हुन ।

प्रमाणको साथमा पत्रकार सम्मेलन गर्न आएका राजपुतले भने,‘२०६३ सालपछि देशमा नागरिकता प्रदान गर्ने प्रक्रिया नै अवैधानिक रहेको छ, तीन जनाको सिफारिस र पाँच जनाको सर्जमीन उठाएर नागरिकता दिने प्रावधान नै गलत छ, यसलाई सरकारले तल्काल सच्याउने कोशिस गरोस्, यो मेरो माग हो ।’

तत्कालिन् सत्तासिन दल नेपाली कांग्रेस, माओवादी र एमालेले गैर नागरिकले सहज तरिकाबाट नागरिकता पाउने व्यबस्था गरेको उनको आरोप छ । उनले थपे,‘त्यो बेलादेखि म त्यसको बिरुद्धमा थिएँ, आजपनि बिरोध गरिरहेको छ, हिमाल, पहाड र तराईमा जोकोहीले राष्ट्रवादलाई विखण्डनवादमा परिणत गर्न खोजेका छन् त्यस्ता अतिवादीहरुलाई राज्यले तह लगाउनुपर्छ, यति दुई तिहाईको सरकारले सक्दैन् भने भनोस हामीले सामना गर्नेछौं ।’

संघीयताको नाममा समाजवादलाई खण्डवादमा परिणत गर्नेलाई नछोड्ने बताउँदै उनले भने,‘भारतीय नागरिक जगदिश प्रसाद अग्रवालका छोरा निरञ्जन अग्रवालले आफ्नो भारतीय नागरिकताको प्रमाण पेश गरि २०५१ सालमा बिरगजंबाट सवारी चालक अनुमतिपत्र लिएको थियो र २०६३ सालमा त्यही निरंजन कुमार अग्रवालले जन्मको आधारमा पर्साबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाण फेला परेको छ यो कसरी भयो ? यत्रो अपराध कुन आधारमा हुँदैछ, न त उ नेपाली नागरिक हो ? न त उसको बुवा नेपाली हो, एउटा कर्मचारीले यत्रो राष्ट्रघात गरेर हिँड्न मिल्छ ? केपी ओली सरकारले यी प्रश्नको उचित जवाफ दिनुपर्छ।’

बीरगंजमा व्यापार व्यवसाय गरिरहेका निरंजनलाई शक्तिको आडमा नेपाली नागरिकता दिईएको प्रमाणहरु देखाउँदै राजपुतले भने,‘प्रधानमन्त्रीदेखि लिएर गृहमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पति सुद्धिकरण बिभाग र नेपाल पत्रकार महासंघमा कारवाहीका लागि २०७५ कात्तिक १३ गते निवेदन दिएको छु, जिम्मेवार निकायहरुमा मैले स–प्रमाणहरु पेस गर्दा पनि राज्यले सुन्दैन भने त्यो भन्दा अर्को लाजमर्दो कुरा के हुन सक्छ ?’

भारतीय नागरिक निरञ्जन कुमार अग्रवालले नेपाली नागरिकता पाउनुपर्ने कुनै आधार नरहेको स्थितिमा उनले दोहोरो नागरिकता लिएकोप्रति पप्पु सिंहले कडा आपत्ति जनाएका छन ।

उनले जिल्ला प्रशासन कार्यालय पर्साले अग्रवाललाई नेपाली नागरिकता दिएको बताए । २०६३ सालमा नेपालबाट नागरिकता लिएका अग्रवालले २०५१ सालमा सवारी चालक अनुमति पत्र लिनको लागि उनले आफ्नो भारतीय नागरिकता प्रमाण पत्र पेश गरेका थिए ।
त्यस्तै पत्रकार सम्मेलनमा एराप्रपा (राष्ट्रवादी) का केन्द्रीय सदस्य पप्पु सिंह राजपुतले २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको बेला प्रधानमन्त्री ओलीले लिएको राष्ट्रवादी अडान आज कता गयो ? भनेर प्रश्न समेत गरेका छन् ।

उनले भने,‘दुईतिहाई बहुमतको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई म विनम्र अनुरोध गर्न चाहन्छु, नाकाबन्दीका बेला तपाईले लिनुभएको राष्ट्रवादी अडान आजको दिनमा कता गयो ? देश आज विभिन्न विखण्डनकारी आवाजहरुको शिकार भईरहेको छ, तपाईको सरकारले के हेरेर बसेको छ ? आजको दिनमा तपाईले काम गर्न सकिँन भने उम्किन पाउनुहुँदैन, जनताले पाँच वर्षको लागि बहुमत दिएका छन्, जतिसक्दो राष्ट्रवादी भएर काम गर्नुहोस्, आसेपासेहरुको चंगुलमा फसेर देश र जनतालाई धोका दिने काम नगर्नुहोस् यो मेरो आग्रह हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot