धनुषा, २४ कात्तिक / प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ । धनुषा चेम्बर अफ कमर्स जनकपुरधामद्वारा छठ पूजा गर्ने ब्रतालुका लागि गरिएको पूजा सामग्री तथा बस्त्र वितरण कार्यक्रममा उहाँले असल कार्य तथा विकास निर्माणमा प्रदेश सरकारलाई सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
प्रमुख कायस्थले प्रदेश सरकारलाई अघि बढ्न तथा नीतिनियममा आवश्यक परिमार्जनका लागि सुझाव दिन पनि उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
प्रदेश नं २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले जनकपुरधाममा मनाइने छठ पूजालाई तीन दिवसीय भव्यता प्रदान गर्न सकिए यस क्षेत्रमा पर्यटक तान्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा छठ पूजा गर्ने १०० एक ब्रतालुलाई पूजा सामग्री तथा बस्त्र वितरण गरिएको थियो । यसैगरी सोहि अवसरमा जनकपुरबाट अयोध्यासम्म साइकलमा यात्रा गरेका रञ्जीतलाई चेम्बर अफ कमर्सले सम्मान गर्नुका साथै साइकलसमेत प्रदान ग¥यो । (रासस)