अत्तरिया, २७ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेशका इञ्र्चाज भीम रावलले सर्वसाधारणले न्यायको अनुभूति पाए मात्रै जनताले कानुनी व्यवसायीमाथि विश्वास गर्ने बताउनुभएको छ ।
नेपाल कानून व्यावसायी सङ्गठनद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले जनताले न्याय माग्दा विभिन्न बाधा अड्चन खेप्नु परेको बताउनुभयो ।
उहाँले छिटो छरितो सर्वसुलभ तरीकाले कानुनी सेवा दिएर जनविश्वास जित्न कानुनी व्यासायीलाई आग्रह गर्नुभयो । उहाँले न्यायालयमा बढ्दै गएको भ्रष्टाचार न्यूनीकरण गर्न सबै कानुनी व्यवसायी जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
राष्ट्र निर्माणका लागि नेपाल बार एसोशियशनको महत्वपूर्ण भूमिका भएको बताउँदै रावलले देश र जनताको पक्षमा वकालत गर्न पछि हट्न नहुने बताउनुभयो ।
यसैगरी नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले न्यायालयमा हुने गरेका सबै भ्रष्टाचारको अन्त्य नगरेसम्म जनताले सहज रुपमा न्याय पाउन नसक्ने बताउनुभयो । (रासस)