Logo

सन्ध्या र साधनाले पाए शैक्षिक अभिभावक



गलेश्वर, ६ मङ्सिर । कलेजो र पित्तथैलीमा क्यान्सर भएर ज्यान गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी ३५ वर्षीया सीता केसी घिमिरेका दुई छोरीले शैक्षिक अभिभावक पाएका छन् ।

गत महीना आमाको मृत्यु भएपछि १३ वर्षीया सन्ध्या र आठ वर्षकी साधना घिमिरेको जीवनयापनमा समस्या भएकाले शुरू गरिएको सहयोग अभियानमा शैक्षिक साम्रगी, झोला, स्कूल पोशाकका साथै प्लस टूसम्म अध्ययनका लागि उनीहरूले शैक्षिक अभिभावक पाएका हुन् ।

बागलुङमा सफल पोलिक्लिनिक प्रालि सञ्चालक म्याग्दी निवासी दीपेन्द्र घिमिरेले सन्ध्यालाई स्नातक तहसम्मको शिक्षा र पर्वत जिल्लाको जलजला गाउँपालिका–३ पर्वतबेनीमा अवस्थित न्यू् होराइजन आवासीय माविले साधनलाई माध्यामिक तहसम्मको निःशुल्क शिक्षा दिने प्रतवद्धता गर्नुका साथै साथै स्वदेश तथा विदेशबाट समेत रकम, स्टेशनरी सामान र लत्ताकपडा उपलब्ध भएपछि दुवै बालिकालाई अध्ययनमा सहज भएको हो ।

बुधबार सदरमुकाम बेनीस्थित बालगृहमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको उपस्थितिमा उच्च शिक्षासम्मको जिम्मेवारी लिने संस्था र व्यक्ति तथा विभिन्न सहयोगका बारेमा जानकारी गराइएको थियो । प्रजिअ अधिकारीले आर्थिक समस्याका कारण उपचार र शिक्षादिक्षामा परेको समस्या समाधान गर्ने अभियान सिङ्गो देशका लागि नमूना भएको बताउनुभयो ।

बेनपा–२ का वडाध्यक्ष हिराबहादुर थापाले ती बालिकालाई वडा कार्यालयबाट समेत सहयोग हुने जानकारी दिनुभयो । पोलिक्लिनिक सञ्चालक घिमिरेले भन्नुभयो, “सन्ध्यालाई मैले चिकित्सक बनाउने सपना बोकेर जिम्मा लिएको छु, उनलाई शिक्षामा कुनै कमी हुँदैन । ” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot