Logo

आगामी बजेटले अग्रगतिको अनुभूति दिनुपर्छ : सांसद भुसाल



काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) का सांसद डा वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई अग्रगतिको अनुभुति दिन सक्नुुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसद भुसालले आगामी आवका बजेट निर्माणमा समाजको अवस्थालाई सुधारउन्मुख बनाउनुपर्ने धारणा राखे । उनले संसदमा अध्यादेशमार्फत कानुन संशोधन गरी पूर्व बजेट छलफलको प्रक्रियालाई अगाडि सारेर परिवर्तन गरे पनि सोहीअनुसार काम हुने स्थिति हुन सकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले भने, “यस अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रुपमा परिवर्तन गर्न दिशानिर्देश गर्ने खाल्को नीति तथा कार्यक्रम आउनुपर्छ । ती नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने खालको बजेट बिनियोजन आवश्यक छ ।”

उनले संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयन र उपभोगका लागि राजनीतिक नेतृत्वबाट धेरै काम हुन नसकेको गुनासो व्यक्त गरे । “हामीले सहिदहरुको सपना पूरा गर्न कति काम गर्यौ ?”, सांसद भुसालले भने, “राजनीतिक व्यवस्था परिवर्तनका निम्ति लडेका, ती सहिदहरुसँगसँगै लडेका हामी कोही सरकारमा छौँ, कोही प्रतिपक्षमा छौ । पछिल्लो २० वर्षमा संविधान त बनायौ तर यसमा भएका व्यवस्थाको कार्यान्वयनका लागि हामीले कति काम गर्यौ ?”

उनले संविधानले समाजवादतर्फ उन्मुख बनाउन निर्देशित गरेअनुसार काम हुन नसकेको धारणा राखे । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन एवं रुपान्तरण क्षेत्रमा काम गर्न नसकेका कारणले उठेका प्रश्नहरुले सिंगो व्यवस्थाप्रति प्रश्न उठेको उनको भनाइ थियो ।

सांसद भुसालले भने, “यस अवधिसँग तुलना गर्ने हो भने सन्तुष्ट हुने हो कि हैन भन्ने प्रश्न पनि गर्न चाहन्छु । सत्तापक्षमा हुँदा गरेका छौँ भन्छौ र प्रतिपक्षमा जाँदा किन भएन भनेर प्रश्न गर्छौ । यसका लागि हामी सबै जिम्मेवार छौ ।” रासस/file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot