मंसिर ११, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले समग्रमा सरकारले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाएका छन् ।
चुनावका बेला जनतासँग गरेका बाचा पूरा गर्न नसकेका कारण सरकार धेरै पक्षमा चुकेको पौडेलले बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले आजदेखि सुरु भएको भनिएको नयाँ युगभित्र केही कार्यक्रमलाई भने सकारात्मक रुपमा लिन सकिने बताए ।
कांग्रेसले पनि प्रतिपक्षीको भूमिका प्रभावकारी रुपमा खेल्न सकेन नि भन्ने धमलाको प्रश्नमा पौडेलले भने,– “कांग्रेस केवल प्रतिपक्षी बन्नका लागि मात्रै विरोध गर्यो भन्ने पनि छ । तर हामीले विरोधका लागि विरोध मात्रै गर्न हुँदैन भनेर सहयोग पनि गरेका छौँ ।”
सरकारमा बस्नेले भन्दा प्रतिपक्षमा बस्नेले धेरै काम गर्नुपर्छ भनेझैँ गरी भएको टिका टिप्पणीलाई आफूले सकारात्मक रुपमा लिएको बताए । तर संसदमा कांग्रेसको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए ।
कांग्रेसको संशोधित विधानको मस्यौदामाथि भइरहेको छलफललाई लिएर विवाद भयो भन्न नमिल्ने पौडेलले बताए ।