मंसिर १३, काठमाण्डौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारले ल्याएको समाजिक सुरक्षा कार्यक्रम सैद्धान्तिक रुपमा सही भएको तर्क दिएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै दीक्षितले कार्यक्रम राम्रा ल्याए पनि सामाजिक सुरक्षा कार्यक्रमको कोषमा आउने रकममाथि नै भ्रष्टाचार हुने दावी गरे ।
“एक वर्षमा डेड खर्ब जम्मा हुन्छ भनिएको छ । त्यो त यति छिटो समाप्त हुन्छ कि दलहरुले दुहुने गाई बनाउँछन् । यसको उदाहरण नागरिक लगानी कोषको पैसाले ल्याएको वाइडबडी विमान प्रकरण हेरे हुन्छ ।” उनले भने ।
सुरक्षा कार्यक्रमको पैसामा हुने भ्रष्टाचारकै कारण २–३ वर्षभित्र नेपाल टाट पल्टिने दीक्षितले बताए । सामाजिक सुरक्षा कार्यक्रममा नेता र अवसरवादीहरुको गिद्धे नजर लागिसेकेको उनले बताए ।
टाट पल्टिएपछि छिमेकी देश चिनसँग ऋण लिनुपर्ने बाध्यता आइपर्ने उनले बताए । “३ वर्षभित्रमा नेपाल टाट पल्टिएपछि सहयोगका लागि चिनसँग गुहार्नुपर्छ । चिनबाट पैसा लिएर थुपारेपछि चिनले हस्तक्षेप गर्छ ।” दीक्षितले बताए ।