Logo

विदेशी पाहुनाले काठमाण्डौका सबै ५ तारे होटल भरियो



मंसिर १४, काठमाण्डौ । एसिया प्यासिफिक समिटमा सहभागी हुन विभिन्न देशका राष्ट्र प्रमुख तथा पदाधिकारीहरु काठमाडौं आउने क्रम जारी छ । शुक्रबारबाट सुरु हुने कार्यक्रमको निम्ता पाएकाहरु आइनसकेकाले आज पनि विभिन्न देशबाट अतिथिहरु आउने आयोजकले जनाएको छ ।
क्रिस्चियन धर्मप्रचारक युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको कार्यक्रममा सहभागिताका लागि समोआ आइल्यान्डका राजारानी शुक्रबार काठमाडौं उत्रँदै छन् ।

त्यसैगरी, मार्सल आइल्यान्डका राष्ट्रपति र पालाओ आइल्यान्डका राष्ट्र प्रमुख पनि आजै काठमाडौं ओर्लंदै छन् ।

भारत र पाकिस्तानका दुई पूर्वप्रधानमन्त्रीले पनि कार्यक्रमको निम्तो पाएका छन् । भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडा र पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीलाई आयोजकले निम्त्याएका हुन् । आयोजकका अनुसार, निम्तो मान्न दुवै देशका पूर्वप्रधानमन्त्री आजै काठमाडौं आउने छन् ।

सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ । त्यसमध्ये म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार नै काठमाडौं आइसकेका छन् ।

१५ सय विदेशी पाहुना एकैपटक काठमाण्डौ आउँदा यहाँका सबै पाँच तारे होटल भरिभराउ भएका छन् ।

एकैपटक यति संख्यामा उच्च तहका विदेशी पाहुना पहिलो पटक नेपाल आएको होटल संचालकहरुले बताएका छन्

आयोजकका अनुसार सम्मेलनको उदघाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुनेछ भने दोस्रो सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, तेस्रो सत्रमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिका, चौथो सत्रमा जलवायु परिवर्तन र पाँचौ सत्रमा सञ्चार माध्यमको भूमिका विषयमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्