Logo

एसिया प्यासिफिक समिटमा सरकारको सहभागिता आपत्तिजनक छ : कमल थापा



कमल थापा, अध्यक्ष, राप्रपा

नेपालमा भइरहेको एसिया प्यासिफिक समिट विवादै विवादको घेरामा छ । धर्मान्तरणका लागि गर्न लागिएको भनिएको समिटलाई विशेषगरी हिन्दुवादीहरुले विरोध गरेका छन् । यसै सन्दर्भमा नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर अभियान चलाउँदै आएका राप्रपाका अध्यक्ष कमल थापासँग ऋषि धमलाले कुराकानी गरेका छन् । कुराकानीका क्रममा सरकारको काम र राप्रपा एकताबारे पनि विषय उठान भएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपालमा भइरहेको एसिया प्यासिफिक सम्मेलनलाई कसरी लिनुभएको छ ?
समिटमा भएको सहभागिताको स्वरुपलाई हेर्ने हो भने यसले सकारात्मक सन्देश जाने अवस्था छैन ।

किन ?
मुख्य कुरा त समिटमा कस्ता व्यक्तिको सहभागिता रह्यो भन्ने कुरा हो । कम्बोडियाका प्रधानमन्त्री हुन सेन अधिनायकवादका कारण बदनाम हुनुहुन्छ । त्यसैगरी बर्माकी नेतृ आङ साङ सुकी पछि पछिल्लो समय रोहिँग्याहरुका कारण बदनाम भइरहेकी छिन् । अरु कतिपय देश र व्यक्तिको प्रतिनिधीत्वलाई पनि महत्व दिन सकिदैन । १२ हजार र २ लाख जनसंख्या भएका देशबाट आएका पाहुना सहभागि समिटको कुनै अर्थ छैन ।

तर प्रधानमन्त्री केपी ओलीले त सबै राष्ट्रबाट आएका पाहुनाहरुलाई महत्व दिनुभयो । तीन दिनसम्म होटलमा बसेर भेटघाट गर्नुभयो नि ?
सरकारको सक्रियता र संलग्नता आपत्तिजनक छ । एउटा धार्मिक संस्थाले गरेको कार्यक्रममा तामझामका साथ सरकार सहभागि हुने कार्यले देशभित्र अत्यन्तै नकारात्मक सन्देश प्रवाह गरेको छ । सरकारको ओचना पनि बढेको छ । अतिथीलाई सम्मान गर्नुलाई सामान्य मान्नुपर्छ । तर जुन प्रकारले महत्व दिइएको छ, त्यो हीन मानसिकता र कुटनीतिक मर्यादाविपरितको काम हो ।

कार्यक्रममा प्रधानमन्त्री सहभागि हुँदैमा किन विवाद र विरोध भयो ?
समिटको आयोजक गैर सरकारी संस्था धर्म प्रचारक संस्था भएकाले यो आलोचित भएको छ । संगठित रुपमा धर्म परिवर्तन गराउने संस्थालाई नागरिकले सन्देहका साथ हेरिरहेका छन् । विश्वमै विवादित धर्मगुरु रेभरेन्ड सन म्योङ मुनकी श्रीमतीलाई जिससकी छोरी घोषणा गर्ने कार्यक्रममा स्वयम् प्रधानमन्त्री केपी ओली सहभागि हुँदा यसले राम्रो सन्देश गएको छैन ।

तर नेपाल धर्म निरपेक्ष राष्ट्र भएको नाताले जुनसुकै धर्मको कार्यक्रमलाई पनि सम्मान गर्नुपर्दैन र ?
पहिलो कुरा त नेपाललाई धर्मरिपेक्षता बनाउनु नै गल्ती हो । ९४ प्रतिशत जनता हिन्दु छन् । धर्म निरपेक्षता कै कुरा गर्ने हो भने पनि सरकारले यति धेरै महत्व किन दियो ? अरु धेरै देशले यो कार्यक्रम गर्न नचाहेपछि नेपालमा ल्याइएको हो । आयोजक संस्था र सरकारले मिलेर करोडौँ रकम खर्च गरेको भन्ने चर्चा छ । यो विषयमा पनि सोधखोज गर्नुपर्छ । आयोजन संस्थाले कसरी यति धेरै रकम खर्च गर्यो ? के प्रयोजनका लागि खर्च गरियो ? यसको रहस्य के छ ?

सरकारले अहिले गरेको कामलाई कसरी लिनुभएको छ ?
दुई तिहाई बहुमत प्राप्त सरकार भएकाले जनताले अत्यन्त धेरै अपेक्षा गरेका छन् । शान्ति, स्थयित्व, आर्थिक विकास र समृद्धि आउँछ भन्ने विश्वास थियो । तर ९ महिनामा सरकारले गरेका कामका कारण जनता निराश छन् । निर्मला प्रकरणमा राज्य संयंन्त्र नै संलग्न रहेको पुष्टी भइसकेको छ । यस्ता कैयैँ विषय छन्, जसमा सरकारको ध्यान जान सकेको छैन । मधेशमा एउटा समुहले मधेश नेपाल होइन, स्वतन्त्र राष्ट्र हो भन्दासमेत सरकार मुकदर्शक भएर बस्यो । भ्रष्टाचार रोकिएको छैन । त्यसैले जनता निराश छन् । पछिल्लो समय योगदानमा आधारित सामाजि सुरक्षा कार्यक्रम राम्रो हो । तर प्रचारमुखी बनाइदा त्यसको पनि आलोचना भयो ।

नेपाल भारत प्रवुद्ध समुहले तयार पारेको प्रतिवेदन भारत सरकारले लिन मानेको छैन । यसलाई कसरी लिनुभएको छ ?
उक्त प्रतिवेदन भारत सरकारले लिनुपर्छ । तर प्रतिवेदन बुझ्न भारतले किन मानेन भन्ने कुरा खुलाइएको छैन । भारत सरकार, नेपाल सरकार वा समुहका सदस्यहरुले यो विषयमा स्पष्ट पार्नुपर्छ ।

तीन राप्रपाबीचको एकता तपाईले भाँड्नुभयो भन्ने आरोप छ नि ?
यो भन्दा हास्यास्पद कुरा के हुन सक्छ ? विगतमा हामी एक भएका बेला ९० प्रतिशतभन्दा बढि समर्थनसहित म अध्यक्ष भएको थिएँ । अहिले उहाँहरुले पनि अध्यक्षको चाहना राख्नुभयो । मैले आउनुस् भनेँ । योभन्दा बढि लचकता कति अपनाउने ?



प्रतिक्रिया दिनुहोस्