केही दिन अघि नेपालमा सम्पन्न एसिया प्यासिफिक समिट विवादमा परेको छ । समिटमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आमन्त्रण समितिको संयोजक थिए भने प्रधानमन्त्री केपी ओली र सरकार सहयोगी बनेको थियो । त्यसप्रति रोष प्रकट गर्दै रावलले शीर्ष नेतृत्वलाई राष्ट्रिय हित, कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सुझाएका छन् । समिटको विषयका केन्द्रित रहेर संयोजनक नेपालसँग ऋषि धमलाले कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा गरिएको कुराकानीको सम्पादित अंश र पूरा भिडियो यहाँ प्रस्तुत गरिएको छ ।
माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा
तपाई एसिया प्यासिफिक समिटको पक्षधर । तर यो समिटका कारण तपाई नै विवादमा पर्नुभयो नि ?
मेरो विषयमा विवाद गर्नुपर्ने विषय होइन । किनभने युनिभर्सल पिस फेडेरेसशन भनेको संयुक्त राष्ट्र संघमा दर्ता भएको संस्था हो । यो संस्थाले विश्वभरमा आफ्नो गतिविधी फैल्याउँदै आएको छ ।
तर उक्त संस्था त विश्वभर नै विवादित मानिन्छ नि ?
खै कसले भन्यो भने बदनाम हुने कसले भन्यो भने सुनाम हुने मैले बुझेको छैन । उक्त संस्थाले सेनेगलमा गरेको कार्यक्रममा म पनि गएको थिएँ । त्यहाँका राष्ट्रपतिले नै सहयोग गरेका थिए ।
फेडेरेसनले कार्यक्रम गर्नुको उद्धेश्य भनेको क्रिष्चियन धर्म प्रचार गर्नका लागि हो नि ?
त्यस्तो होइन, यो संस्थाले कार्यक्रम गर्दा धर्म विशेष हुँदैन । सबै धर्मका मान्छेलाई बोलाइन्छ । भारतका पूर्व प्रधानमन्त्री देवे गौडा अव क्रिष्चियन हुनुभयो त ? यस्तो खालका वाइयात कुराको अर्थ छैन ।
तर तपाईकै दलका नेताहरुले पनि समिटको विरोध गरे नि ?
कसैले व्यक्ति विशेष धारणा राख्न सक्छ । निजी कुरा छोडिदियौँ ।
एकपटक प्रधानमन्त्री भइसकेको व्यक्ति, फेरी पनि प्रधानमन्त्रीको दावी गर्न लायक व्यक्तिले यसरी क्रिष्चियन धर्मलाई आत्मसाथ गर्दा अप्ठ्यारो पर्दैन ?
यस्तो नचाहिने कुरा नगरौँ । यो कार्यक्रममा सहभागि हुँदैमा क्रिष्चियन हुने होइन । विगतमा गिरिजाप्रसाद कोइरालाले पनि यो संस्थाको कार्यक्रममा सहभागि भएर अवार्ड ग्रहण गर्नुभएको थियो । त्यतिबेला विवाद नगर्ने अहिले कम्युनिष्टको सरकारको हुँदा किन विवाद गर्ने ?
यो समिटले नेपाललाई के फाइदा भयो त ?
समिटले त नेपालको पर्यटन क्षेत्रको प्रमोसनमा ठूलो योगदान गरेको छ । विभिन्न देशका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु आएर विभिन्न ठाउँको भ्रमण पनि गरे । विभिन्न धर्म मान्ने विशिष्ट पाहुनाहरु नेपाल आउनु त देशका लागि राम्रो पक्ष हो नि । यति ठूलो कार्यक्रम गरेर ४५ देशका १५ सय मानिस नेपाल आउँदा पर्यटन क्षेत्रको प्रमोशन हुँदैन ?
प्रधानमन्त्री केपी ओलीलाई सफल भनेर अवार्ड नै दिइयो । यसलाई कसरी लिनुहुन्छ ?
यो त खुशी हुनुपर्ने कुरा हो नि । नेपालमा एक लाख डलर आएको छ । पुरस्कार रकम युवा र बालबालिकाको हितमा प्रयोग गर्छु भन्नुभएको छ । त्यसैले यो कार्यक्रम र अवार्डलाई विवादमा पार्नुहुँदैन ।