काठमाडौँ,२३ मंसिर । काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।टोखा नगरपालिका–६ मिलनचोकमा गए राति पौने १२ बजे टेलिफोनको तार भएको पोलमा मोटरसाइकल ठोक्किदा बा६५प ८०६५ नंको मोटरसाइकल चालक गोरखा घर भई बसुन्धारा बस्दै आएका २१ वर्षीय सुवास सुर्खेतीको उपचारका क्रममा मृत्यु भएको हो । गोरखाकै १८ वर्षीय सुदीप सुर्खेती भने घाइते भएका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले पोलमा ठोक्किएर गम्भीर घाइते सुर्खेतीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो । दुवै जनाले मादक पदार्थ सेवन गरेको अनुसन्धानमा खुलेको र घाइते सुर्र्खेतीको सोही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको गए राति मृत्यु भएको छ ।इलाम र पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को१प ३३३९ नंको मोटरसाइकलले ठक्कर दिँदा फाकफोकथुम गाउँपालिका–३ आमचोक निवासी ८३ वर्षीय बीर्खबहादुर लकान्द्रीको मृत्यु भएको हो ।
घटनापछि लकान्द्रीलाई उपचारका लागि रबिस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिए र त्यहाँ उपचार हुन नसकेपछि झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकल चालक वसन्त मगरलाई विर्तामोड इलाका प्रहरी कार्यालयले राति नै नियन्त्रणमा लिएको आमचोक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भुपेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । रासस