काठमाडौं, २३ मंसिर । निर्माण व्यवसायीहरुले विक्रम पाण्डे निर्दोष रहेको दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइराला र महासंघका पूर्व महासचिव रामशरण देउजाले पाण्डे निर्दोष रहेको दाबी गरेका हुन् ।
शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुले यस्तो दाबी गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको भोलिपल्ट उनीहरुले यस्तो दाबी गरेका हुन् । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले कालिका कन्स्ट्रक्सनका मालिक समेत रहेका पूर्वमन्त्री पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो ।
तर, कोइरालाले पाण्डेले गलत काम नगरेको दाबी पत्रकार धमलासँग गरे । मुद्दामा आयोजनाका तत्कालीन प्रमुखहरु सरोजचन्द्र पाण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीलाई पनि विपक्षी बनाइएको छ ।