Logo

नेकपाका नेताहरुको घर–घरमा गुटको बैठक, ओली–प्रचण्ड एउटै प्रतिवेदन बनाउँदै



काठमाडौँ, २८ मङ्सिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्दैछ । तर, बैठकअघि पार्टीका शीर्ष नेताहरुको गुटको बैठक नेताको घरघरमा बसिरहेको छ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बराहीमा बस्दैछ । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने पार्टीले जनाएको छ ।

तर, धेरै लामो समयपछि स्थायी समिति बैठक बस्न लागेकोले नेताहरु आ–आफ्नो गुटको बैठक आज नेताहरुको घरमा बसिरहेको छ । स्रोतका अनुसार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा प्रतिवेदन तयार पार्दैछन् ।

उता, बरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफ्नो छुट्टै प्रतिवेदन पेश गर्ने र अध्यक्षद्धयलाई चूनौति दिने बुझिएको छ ।

यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो ।

स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ । बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन । शनिबार बस्ने बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पु¥याउनेछ ।



प्रतिक्रिया दिनुहोस्