काठमाडौं, २ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुले नै सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । जारी महासमिति बैठकबारे प्राईम टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा महामन्त्री डा. सशांक कोइराला, नेताद्धय प्रदिप गिरी र अर्जुननरसिंह केसीले देउवालाई चेतावनी दिएका हुन् ।
महामन्त्री कोइराला:
“हामी अब एक ढिक्का भएर अघि बढ्छौं । कांग्रेसको भविष्यपनि निकै राम्रो देखिरहेको छु । तर, यसको लागि कांग्रेस एकै ठाउँमा उभिनुपर्छ । माओवादी र एमाले एक ठाउँमा उभिएर अहिले दुई तिहाईको दम्भ छ । हामी गुट र उपगुटले गरेर पछाडि परेका छौं । तर, अब आउँदा दिनहरुमा यो चूनौतिलाई सामना गर्न नेपाली कांग्रेससँग सार्मथ्य छ ।”
यहाँ हामी सिद्धान्तको लडाई लड्दैछौं । पदको भागबण्डा गर्नु पनि ठिक होईन । शेरबहादुरजी चार पटक त प्रधानमन्त्री भैसक्नुभयो । अब अरु कति चोटी हुने ? १४ औं महाधिवेशनमा सभापतिमा देउवाजी उठ्नुभयो भने म उहाँसँग प्रतिष्पर्धा गर्छु । त्यो हिम्मत र साहस म सँग छ । तर, त्यो भन्दा पहिले म साथीहरुसँग परामर्श गर्छु । म कसैसँगपनि डराएको छैन । म पनि सभापति बन्न योग्य उम्मेद्धवार हुँ ।