Logo

अमेरिकामा बस्दै आएका थापा र खड्काद्वारा लाखको दान



ललितपुर, २ पुस । अमेरिका बस्दै आएका दुई जना नेपालीले जन्मभूमिको विकासका लागि एक लाखभन्दा बढी दान गरेका छन् । बिष्णुडोल खानेपानी आयोजनको अभिवृद्धिका लागि महालक्ष्मी नगरपालिकाको बिष्णुडोलमा भइरहेको श्रीमद्भावगत् विराट महायज्ञमा बिनोद थापा र राम खड्काले एक लाखभन्दा बढी रकम दान गरेका हुन् ।

नेपाली सेनाका पूर्व मेजर समेत रहेका थापाले पिता लक्ष्मण थापा र माता कमला थापाको नाममा रकम दान गरेका हुन् । बिष्णुडोलमा जन्मिएका थापा सानै देखि मेधावी छात्र थिए ।

उनी पत्नी निता ताम्राकार थापासँगै अमेरिकाको बोस्टनमा इन्जिनियरिङ पेशामा सक्रिय छन् । थापाले जन्मभूमीलाई सम्झेर विकासका लागि सानो योगदान गर्न पाउँदा धन्य भएको बताए । उनले भने,‘जन्मभूमिका लागि केही गर्न पाउनु मेरो अहोभाग्य हो ।’

यसैगरी, अमेरिका बस्दै आएका चारघरे निवासी राम खड्का र अप्सरा खड्काले एक लाख एक रुपैयाँ दान गरेका छन् । उनीहरुले हजुरबुवा पदमबहादुर खड्का तथा हजुरआमा झलककुमारी खड्काको सम्झनामा दान गरेका हुन् । स्थानीय राम खड्का समाजसेवीका रुपमा चिनिन्छन् । उनले भूकम्पका समयमा पनि भूकम्पपीडितका लागि सहयोग गरेका थिए ।

खड्काले आफू जहाँ बसेपनि जन्मभूमिलाई सम्झने मात्र नभए सकेको योगदान गर्ने बताए । नेपाली हुनुमा आफू सधै गर्ववान्वित हुनेगरेको बताउँदै जो जहाँ भएपनि देशलाई सुन्दर बनाउन लाग्नुपर्ने बताए ।

यसैगरी अमेरिका बस्दै आएका बिष्णुडोल निवासी कुन्दन पोखरेलले दान घोषणा गरेका छन् । दान घोषणा गर्दै जन्मभूमीका लागि योगदान गर्न पाउँदा गर्ववान्वित भएको बताए । महायज्ञको छैठौं दिन ५० लाखभन्दा बढी रकम संकलन भइसकेको छ । भोलिसम्म चल्ने महायज्ञमा उल्लेख्य रकम उठ्ने आयोजकले अपेक्षा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्