Logo

जनचाहनाअनुसार संविधान संशोधन गरेर हिन्दुराष्ट्र बनाउनुपर्छ : खड्का



पुष ३, काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

कांग्रेसको झण्डामा भएका चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता भन्ने रहेको भन्दै खड्काले पार्टीभित्र हिन्दुराष्ट्रको माग उठ्नु स्वभाविक भएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले पछिल्लो समय धर्म परिवर्तनको लहर बढेकोले पनि आफूहरुलाई चिन्तित बनाएको बताए ।

“विगतमा नेपाल हिन्दुराष्ट्र हुँदा सबै धर्मको सम्मान थियो । जब धर्म निरपेक्ष भनेर संविधानमा राखियो, त्यसबेला पनि विवाद भएको थियो । तर संविधानमा धर्म परिवर्तन गराउँन पाइदैन भनेर व्याख्या पनि गरिएको थियो । तर अहिले धर्म परिवर्तन गराउनेहरु सलबलाएका छन् ।” खड्काले भने ।

संविधान जारी गर्ने बेलामा विवाद नझिक्ने मनसायले धर्मनिरपेक्ष राखिएको भए पनि समयक्रमअनुसार हिन्दुराष्ट्र नै आवश्यक देखिएको खड्काको तर्क छ ।

कांग्रेसभित्र हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलेको बताउँदै खड्काले आफूले पनि हस्ताक्षर गर्ने जानकारी दिए ।

जनचाहनाअनुसार संविधान संशोधन गर्नुपर्ने खड्काको तर्क छ । महासमिति बैठकपछि कांग्रेस नयाँ दिशामा जाने खड्काको दावी छ ।



प्रतिक्रिया दिनुहोस्