Logo

भीम रावलदेखि योगेश भट्टराई ओलीको आलोचनामा, शंकर पोखरेल बचाउमा



काठमाडौं, ३ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् ।

आज बोल्ने नेताहरुमा भीम रावल, योगेश भट्टराई र टोपबहादुर रायमाझीले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको कडा आलोचना गरेका हुन् । नेता रावलले प्रधानमन्त्री ओलीले स्वेच्छचारी गरेको आरोप लगाए ।

हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिटका कारण सरकारको शाख गिरेको पनि उनले आक्रोश पोखे । रावलले एसिया प्यासिफिक समिटले देशको शिर निहुर्याएको छ र यसमा प्रधानमन्त्रीले आत्माआलोचना गर्नुपर्ने धारणा राखे ।

रावलले त उक्त सम्मेलनमा सरकारको सहभागिताले शिर निहुरिएपनि बताए । उनले राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेण्डा बनाएर छलफल गर्न माग गरेका छन् । रावलको भनाईमा अर्का सदस्य टोपबहादुर रायमाझीले पनि समर्थन गरेका थिए ।

अर्का सदस्य, योगेश भट्टराईले पनि ओलीको आलोचना गरे । उनले पूर्वएमालेको गुटबन्दीका कारण संगठनिक एकता अड्किएको टिप्पणी गरे । उनले पार्टीमा पछिल्लो समय दाउपेच, धोकाधडी भइरहेको र नेताहरुमा विश्वास नदेखिएको गुनासो पोखे ।

आज बोल्ने सत्यनारायण मण्डल र सोमनाथ प्यासीले पनि ओलीको आलोचना गरेका थिए । तर, अर्का सदस्य एवम् ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखेरलले भने ओलीको बचाउ गरेका थिए । उनले एउटा नेतामाथि समस्या थुपार्नुभन्दा सामूहिक बनाउनुपर्ने धारणा राखेका थिए । केशब बडालले पनि घुमाउरो शैलीमा ओलीको बचाउ गरेका थिए ।

अर्का सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पृथ्वीसुब्बा गुरुङले मुलुकलाई राष्ट्रिय स्वाधिनताको दिशामा अगाडि बढाउन नेताहरुको ठूलो भूमिका रहेको नभुल्न आग्रह गरे । कार्यशैलीमा समस्या भए सुधार गर्दै जानुपर्नेमा गुरुङको जोड थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot