Logo

ओली–प्रचण्डको आलोचनामा उत्रिए सुरेन्द्र पाण्डे, अरु कसले के भने ?



काठमाडौं, ४ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबारको स्थायी समिति बैठक जारी छ । आजको बैठकमा बोल्ने नेताहरुले पनि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन् ।

अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलमा भाग लिँदै आज बोल्ने अधिकांश नेताहरुले उक्त प्रतिवेदनको आलोचना गरिएको छ । आजको बैठकमा सुरेन्द्र पाण्डेले ओली र प्रचण्डको कार्यशैलीको आलोचना गरेका थिए । उनले सरकार अहिले सही ढंगले नचलेको पनि आरोप लगाएका थिए । त्यस्तै उनले मन्त्रीहरु परिवर्तन गर्नुपर्नेबारेपनि नेतृत्वले समिक्षा गर्नुपर्ने कुरा राखेका थिए ।

केही मन्त्रीहरुको कार्यशैलीका कारण सरकार असफल भएकाले तत्काल मन्त्रिमण्डल पूर्नगठन गर्न उनले माग गरेका छन् । पाण्डेले प्रधानमन्त्री ओलीको शैली पब्लिकले मन नपराएकोले कार्यशैली सच्याउनुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै आज रघुजी पन्त, वर्षमान पुन, देव गुरुङलगायतका ८ जना नेताहरुले राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर छलफलमा भाग लिएका थिए । गत शनिबार सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको हो ।

छलफलमा भाग लिँदै नेताहरुले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन ।



प्रतिक्रिया दिनुहोस्