Logo

‘सरकार राम्रो बनाउन कर्मचारीको भूमिका प्रमुख’



काभ्रेपलाञ्चोक, ४ पुस : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार राम्रो बनाउन कर्मचारीको भूमिका प्रमुख रहने बताउनुभएको छ ।

भूमि प्रशिक्षण केन्द्रद्वारा नवप्रवेशी नापी अधिकृतका लागि सञ्चालित तीनमहीने भूमि प्रशासन तथा कार्यालय व्यवस्थापनसम्बन्धी सेवा प्रवेश तालीम समापन कार्यक्रमलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकार र कर्मचारी एकअर्काका परिपूरक हुन्, सरकार राम्रो बनाउने कर्मचारीले नै हो ।” उहाँले कर्मचारीले राम्रो काम गरे सरकार राम्रो हुने र नराम्रो गरे सरकार पनि नराम्रो हुने जानकारी गराउनुभयो ।

मन्त्री अर्यालले खटिएको ठाउँमा सुशासन कायम गर्न दत्तचित्त हुन कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपार्इंहरु आफू प्रशंसित हुने गरी काम गर्नुपर्छ, जहाँ जनताले सहज तवरले सेवा पाऊन्,” उहाँले कर्मचारीलाई ‘अर्जुन दृष्टि’ कायम राख्न आग्रह गर्नुभयो । मन्त्री अर्यालले नापी सेवा प्रभावकारी बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न प्रशिक्षार्थीलाई निर्देशन दिनुभयो । उहाँले २७ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मुलुकको परिस्थितिअनुसार आफूलाई ढाल्दै जनताको सेवामा समर्पित रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरु नजीक हैन, कर्णालीबाट काम शुरु गर्छु भनेर प्रण गर्नुस् ।”

प्रजिअ कृष्णबहादुर राउतले नापी अधिकृतले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको भूमि व्यवस्थापनको कार्य सम्पादनमा प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्