काठमाडौं ७ पुस । दाङको तुल्सीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ । शैक्षिक भ्रमण गरी सल्यानबाट दाङ फर्किरहेको बा ४ ख ९७६६ नम्बरको बस हिजो साँझ दुर्घटना भएको हो ।
बसमा ३४ जना विद्यार्थी, दुई शिक्षक, चालक र सहचालक गरी ३८ जना सवार रहेको बताइएको छ । घोराहीमा सञ्चालित कृष्ण सेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्यूटका वन विज्ञान विषयका विद्यार्थी र शिक्षक हिजो बिहान सल्यानको छायाछेत्रमा वनस्पतिसम्बधी प्रयोगात्मक अभ्यासका लागि गएका थिए ।
फर्कने क्रमा उक्त बस सडकबाट ७ सय मिटर तल खसेर दुर्घटनान भएको हो । साँघुरो र भिरालो पहाडमा बस टुक्राटुक्रा भएकाले उद्धारमा समेत समस्या भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
गम्भीर घाइते केहीको नेपालगन्जमा उपचार भइरहेको छ । अन्यको भने राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।