काठमाडौं, ७ पुष । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले आफ्नो अमेरिका भ्रमण सफल भएको दाबी गरेका छन् । पार्टीको जारी स्थायी समिति बैठकमा अमेरिका भ्रमणबारे ज्ञवालीले ब्रिफिङ गरेका थिए ।
अमेरिकाले नेपालको भूमिकालाई सक्रिय पार्दै सम्बन्धमा नयाँ उचाई दिने र सहकार्य गर्ने भएको छ। नेपाल र अमेरिका दुई देशबीच १७ वर्षपछि उच्चस्तरीय औपचारिक राजनीतिक समीक्षा भएको थियो । वासिंटन डीसीस्थित अमेरिकी विदेश मन्त्रालयमा परराष्ट्रमन्त्रीस्तरमा सम्बन्ध समीक्षा भएको थियो । नेपालबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ नेतृत्व टोलीले आ–आफ्ना प्राथमिकता राखेका थिए।
अमेरिकी विदेशमन्त्री पोम्पेओले नेपाललाई दिंदै आएको प्राथमिकता, विकासको क्षेत्रमा सहर्काय, र विश्व तथा क्षेत्रीय राजनीतिमा नेपालको भूमिकामा थप सहकार्य गर्ने बताएको मन्त्री ज्ञवालीले पार्टीमा जानकारी गराएका हुन् ।
दुईपक्षीय समिक्षाले नेपाल–अमेरिका सम्वन्ध थप प्रगाढ बनेको र नयाँ उचाईमा प्रवेश गरेको परराष्ट्रमन्त्री ज्ञवालीले विश्वास दिलाए । अमेरिका भ्रमणको क्रममा उनले सहायक रक्षा मन्त्रीसँग पनि भेटेका थिए ।