Logo

झलनाथ खनाल र माधव नेपाल उत्रिए ओलीको विरोधमा, मन्त्री हटाउन दबाब



काठमाडौं, ७ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा अब प्रदिप ज्ञवाली मात्रै बोल्न बाँकी छन् । बाँकी नेताहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको संयुक्त प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखिसकेका छन् ।

बैठकमा बोल्ने अधिकांश नेताहरुले नेतृत्वको आलोचना गरेका छन् । त्यतिमात्रै होईन, उनीहरुले प्रधानमन्त्री ओलीको कार्यशैलीको पनि चर्को विरोध गरेका छन् । आज बोल्ने अधिकांश बोल्ने नेताहरुले पनि सरकारको आलोचना गरे ।

बरिष्ठ नेता झलनाथ खनाल आजको बैठकमा कडा रुपमा प्रस्तुत भए । बैठकमा खनालले प्रधानमन्त्री ओलीले विधि, विधान र प्रक्रिया मिचेको आरोप लगाए ।उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘अध्यक्षज्यूले आफूलाई सर्वेसर्वा ठान्नुभयो । यो कम्युनिष्ट सरकार हो । सरकार बदनाम भैरहेको छ । कमजोर भएको छ । तपाईहरुले पेश गरेको प्रतिवेदनले समग्र समस्या समेट्दैन ।’

उनले सरकारले धेरै त्रुटि गरेको र जनतामा निराशा छाएकोले तत्काल आत्मआलोचना गर्नुपर्ने धारणा राखेका थिए । उनले सरकार बलियो बनाउने र पार्टीलाई कमजोर बनाउने काम गर्न नहुनेपनि धारणा राखेका थिए । खनालले सरकारका केही मन्त्रीहरुको कार्यशैलीले एकपछि अर्को गर्दै बदनामी कमाएको पनि गुनासो पोखे । उनले नामै लिएर मन्त्री गोकुल बाँस्कोटाको कार्यशैलीको खुलेर विरोध गरे ।

अर्का बरिष्ठ नेता माधव कुमार नेपालले पनि ओलीको विरोध गरे । नेता नेपालले पनि सरकारको प्रभावकारिता नभएको गुनासो पोखे । उनले अध्यक्षद्धयले ल्याएको प्रतिवेदन एकलकाँटे खालको भएको पनि आरोप लगाए । सरकारले राम्रो काम गरेको भन्दै प्रतिवेदनमा फेहरिस्त राखिएको तर नराम्रो कामको पनि समिक्षा गर्नुपर्ने नेता नेपालले सुझाव दिए ।

उनले अब पार्टीलाई एक व्यक्ति, एक पदमा लैजानुपर्ने सुझाव दिए । नेता नेपालले नेतृत्व (अध्यक्षद्वय केपी ओली र प्रचण्ड) को बढी पूजा भएको भन्दै त्यसरी पूजा गर्न आवश्यक नरहेको धारणा राखेका छन् ।

‘नेतृत्वको पुजा नगरौँ, नेतृत्वको प्रशंसामा बढी ध्यान केन्द्रीत नगरौँ, नेता नेपालले भने,‘अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदन आत्मप्रशंसक हो । त्यो गलत छ, त्यसलाई सच्चाउनु पर्छ । ’ नेता नेपालले यस भएका संगठनात्मक एकीकरणमा कमजोरी भएको भन्दै संगठन एकीकरणका वाँकी काम यहि बैठकले टुंगो लगाउनु पर्ने बताएका छन् ।

‘संगठनात्मक एकीकरणमा कमजोरी भएको छ । त्यो स्वीकार गर्नुपर्छ’ नेता नेपालले भने, ‘त्यसमा कुनै तर्कले ढाकछोप गर्न मिल्दैन । बाँकी एकीकरणका काम यही बैठकले टुंगाउनु पर्छ । पोलिटव्यूरोको गठन यहि बैठकले गर्नुपर्छ । अव स्थायी कमिटीको बैठक दुइ दुइ महिना बस्नु पर्छ ।’

तर, आज बोल्ने नेताहरु विष्णुु पौडेल र रामबहादुर थापा बादलले भने सरकारको बचाउ गरेका थिए । नेता पौडेलले सरकारको बचाउ गरेर जानुपर्ने धारणा राखेका थिए । अहिले सरकारको आलोचना गरेर जान नहुने उनको भनाई थियो ।

बादलले पनि सरकारको बचाउ गरे । शान्ति र सुरक्षा अहिले अत्यन्तै सवल भएको उनको जिकिर छ । अर्का सदस्य गिरिराजमणि पोखरेलले पनि सरकारको बचाउ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्