पुष १०, काठमाण्डौ । नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले विश्वमा सबैभन्दा धेरै मानिसले मनाउने पर्व क्रिसमस भएको दावी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गहतराजले प्रभु यसु ख्रिष्टको जन्मदिनका अवसरमा विश्वभरी नै शुभकामना आदानप्रदान भइरहेको बताए ।
आफु अध्यक्ष रहेको महासंघ वाइवल धर्म शास्त्रले भनेका काम र कुरा मात्रै गर्ने गरेको उनले बताए । नेपालको संविधानविपरित धर्म प्रचार पनि नगरिएको उनको दावी छ ।
आफूहरुले सुसमाचार प्रचार गरेको ठोकुवा गर्दै गहतराजले धर्म प्रचार गर्यो भन्ने आरोप गलत भएको जिकिर गरे । वास्तविकता र हल्लामा धेरै अन्तर रहेको उनको तर्क थियो ।
कुनै पनि धर्मलाई पैसामा किन्न नसकिने उनको कथन छ । “वाइवलीय धर्मशास्त्रअनुसार कसैले जबरजस्ती धर्म परिवर्तन गराउन मिल्दैन । हामीले निमयविपरित धर्म परिवर्तन गराएको भए कारबाहीका लागि उजुरी गर्नुस् । हामी पनि कारबाही गर्छौँ ।” गहतराजले भने ।
केही दिनअघि काठमाण्डौमा सम्पन्न एसिया प्यासिफिक समिटमा कोही पनि क्रिष्चियनहरु नगएको गहतराजको दावी छ । “त्यो कार्यक्रम क्रिष्चियनले गरेको होइन । धर्म प्रचार पनि गरेको होइन । नेपालका ३० लाख क्रिष्चियनमध्ये कोही पनि त्यो कार्यक्रममा गएनन् । भ्रममा नपर्नुस् ।” उनले भने ।
क्रिष्चियनमाथि अनावश्यक आरोप लगाएर सामाजिक सद्भावमा नकारात्मक असर नपार्न उनले सबैलाई आग्रह गरे ।
आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव । क्रिसमसडेका रुपमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाइ छ ।