काठमाडौं, ११ पुस। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले द्रुत गतिमा विकास र समृद्धिको सपना देखेपनि लोकतान्त्रिक पद्दतिमा सबैलाई मिलाएर लैजान खोज्दा छोटो समयमा हुने कामलाई पनि धेरै समय लाग्ने गरेको स्पष्ट पारेका छन् ।
बुधबारबाट शुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । उनले भने,‘यो लोकतान्त्रिक पद्दति भनेको विकास निर्माण छिटो छिटो हुने प्रणाली होइन । कम्युनिष्ट पार्टीहरुको परम्परागत शासन हुन्थ्यो भने ड्याम ड्याम विकास हुन्थ्यो ।’
उनले केही कमजोरीका बावजुद देशभर विकास निर्माणको काम अघि बढाउन वर्तमान सरकार सफल भएको पनि दाबी गरे । उनले सरकारले सकारात्मक पहल गरिरहेको बताए । विगतमा सत्तापक्ष र प्रतिपक्षी दलले धेरै अप्ठ्याराहरुलाई चिर्दै अधिकतम राष्ट्रिय सहमति कायम गर्दे अघि बढेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहकार्य गर्दे अघि बढ्नुपर्नेमा जोड दिए ।