काठमाडौं, १३ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको रफ्तार अब तीव्ररुपले अघि बढ्ने बताएका छन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अरु राष्ट्रभन्दा तीव्ररुपले विकास गर्ने सरकारको लक्ष्य रहेको बताए ।
उनले निराशाजनक सोचलाई त्यागेर आत्मविश्वासका साथ अघि बढ्न श्रमिकहरुलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले सुशासन र विकासमार्फत् राष्ट्रिय उद्देश्य पूरा गर्ने दिशामा सरकार अघि बढिरहेको बताए ।
संविधान कार्यान्वयनका लागि सरकार अघि बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार सफल भएको जिकिर गरे ।
प्रतिपक्षी दलले सरकारलाई दिएको ‘अधिनायकवाद’को संज्ञा हास्यास्पद रहेको उनको टिप्पणी थियो । प्रधानमन्त्री ओलीले गलत प्रचारबाट भ्रमित नहुनसमेत सबैसँग आग्रह गरे ।
तस्विर : मुकुन्द कालिकोटे