Logo

“जनचाहना बाहिर ओली सरकार रहन सक्दैन” : बिष्णु पौडेल



काठमाडौं, १४ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गरेका राम्रा कामहरुको फेहरिस्त सुनाएका छन् । गृहजिल्ला रुपन्देही पुगेका पौडेलले शनिबार सरकारका कामहरु सुनाएका हुन् ।

तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले सरकार सबै प्रकारका विभेदको अन्त्य भएको समाज निर्माणको अभियानमा लागेको बताए। उनले मुलुकका सबै जाति, धर्म र भाषाभाषीले सम्मानजनक जीवन जिउने आधार तयार भएको पनि दाबी गरेका छन्।

सबै जाति, भाषा, धर्म र संस्कृतिको उजागर गर्ने कार्यमा सरकार अगाडि बढेको बताउँदै उनले अब आर्थिक हिसाबले सबैको स्तर समान बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए।

उनले भने,“जनचाहना बाहिर सरकार रहन सक्दैन, कटौती गरिएका पर्व पुनःस्थापित गर्ने सम्बन्धमा पनि छलफल गर्छौं।” जनतालाई लोकतान्त्रिक अधिकारयुक्त बनाएर सम्मानजनक जीवन जिउन पाउने आधार संविधानलेनै तय गरेको भन्दै उनले व्यवहारिक कार्यान्वयनमा लाग्न सबैलाइ आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्