काठमाडौं, १९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले वाईडबडी खरिद प्रकरणमा भ्रष्टाचार गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताए ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो प्रकरणमा मात्रै होइन, भ्रष्टाचार गर्नेजति सबैलाई कारबाही गर्नुपर्छ । जेल हाल्नुपर्छ । बदमास गर्नेहरुलाई कसैलेपनि छुट दिनुहुँदैन् ।’
नेता भण्डारीले सानालाई कारबाही र ठूलालाई छोड्ने काम भएको भन्दै अब त्यस्तो गर्न नहुने बताए । नेपालमा भ्रष्टाचार गरेर कमाउने र विदेशमा लगेर राख्ने गरेको सुनाउँदै उनले भने,‘नेपालको ईतिहाँसमा पहिलो चोटी वीरशमशेरले ४० करोड भारु विदेशमा लगेर राखेका थिए । अहिले नेपाल कमाउने र बाहिर विदेशमा लगेर राख्ने थलो भएको छ । जुन कुरा यहाँको जनताको जीवनस्तर हेरेर थाहा हुन्छ ।’
नेपालमा पछिल्लो समय भ्रष्टाचार र कमिशनतन्त्र बढेको सुनाउँदै जसले गलत गर्छ उसलाई कारबाही गर्नुपर्छ भनेर आफूहरुले भनिरहेको पनि जिकिर गरे । उनले भने,‘हामीले पञ्चायती व्यवस्थाको बेलामा पनि गधा काण्ड, चरेश काण्ड, उन काण्डदेखि प्लेन काण्ड सबै उठाएका हौं नि ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारापनि बालुवाटारमै छन् र यी भ्रष्टहरुपनि मेरै हुन र यी बालुवाटारमै छन् भनेजसरी बोलिरहेको उनले टिप्पणी गरे । उनले भने,‘प्रधानमन्त्रीले मैले यीनलाई बचाउनुपर्छ भन्ने शैलीमा, त्यो अर्थ लाग्नेगरि उहाँ बोलिदिनुहुन्छ । तर, उहाँले त्यो बोल्न हुँदैनथियो । उहाँले त बरु नेपालमा हत्या, हिंसा गर्ने र भ्रष्टाचारी जो सुकै होउन्, म उनीहरुलाई कारबाही गर्छु, म छोड्दिन भनेर बोल्नुपर्दथ्यो ।’
राज्यले केपी ओलीलाई बचाउनको लागि १८÷२० करोड खर्च गरेको सुनाउँदै भण्डारीले भने,‘राज्यले उहाँलाई हत्यारा र भ्रष्टहरुलाई संरक्षण गर्नको लागि त्यत्रो रकम खर्च गरेको होईन ।’ देशलाई भ्रष्टाचारमा लैजाने कसैलेपनि उन्मुक्ति पाउन नहुने उनको धारणा छ ।
अख्तियार वा अदालतले भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिन्छ भने भोलिको सन्ततीले कानुन परिवर्तन गरेर भएपनि राज्यको सम्पत्ति फिर्ता गर्ने र कारबाही गरेरै छोड्ने पनि भण्डारीले उद्धघोष गरे ।