काठमाडौं, २३ पुस । पर्यटनमन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा आफु दोषी प्रमाणीत भए कारबाहीको भागिदार हुने बताएका छन् । लेखा समिति अन्तर्गतको उपसमितिले मन्त्री अधिकारीलाई पनि कारबाही सिफारिस गरेपछि आज सिंहदबार स्थित पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन ।
उनले भने,‘अनुमान र पूर्वाग्रहका आधारमा गरिएका कुनैपनि निर्णयहरु मान्य हुनेछैनन्, सरकारले पनि अनुसन्धान गरिरहेको छ, पत्रकार पनि हुनुहुन्छ, सबैबाट अनुसन्धान हुँदैछ, दोषी प्रमाणीत भए म कारबाही भोग्न तयार छु ।’ महालेखा परीक्षकको कार्यालयले विमान खरिदमा प्रश्न उठाइसकेपछि अन्तिम किस्ता भुक्तानी दिएको, संसदमा झुट बोलेको भन्दै उपसमितिले मन्त्री अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।
संसदलाई ढाँटेको स्वीकार गर्दै पर्यटनमन्त्री अधिकारीले भने,‘महालेखाले प्रश्न उठाएपनि कानुनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्चको २७ मंसिर २०७४ को आदेश मैले अन्तिम किस्ता रोक्नसक्ने अवस्था थिएन, संसदमा बोल्दा मेरो कार्यकालमा कुनै पनि रकम नगएको बोलेको थिए, २ र ३ दिनपछि पेमेन्ट कसरी जान्छ भनेर हेर्दा पो पहिले नै सेड्युल बनेको रहेछ । त्यसअनुसार अन्तिम किस्ता मेरो कार्यकालमा पनि गएको रहेछ ।’
तस्विर-मुकुन्द कालिकोटे