Logo

काङ्ग्रेसकोे अडान : सार्वजनिक वक्तव्यमाथि प्रश्न गर्न पाउनुपर्छ



काठमाडौँ, २४ पुस ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको सार्वजनिक वक्तव्यमाथि प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने अडानलाई यथावत् राखेको छ ।

काङ्ग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखले सांसदलाई नियमानुसार प्रधानमन्त्रीको वक्तव्यमाथि संसद्मा प्रश्न सोध्न नदिएको निष्कर्ष निकालेको छ ।

बैठकले आइतबार जुन प्रक्रियादेखि बैठक अन्त्य गरिएको हो त्यहीँबाट प्रतिनिधिसभाका आगामी बैठक आरम्भ हुनुपर्ने माग गरेको काङ्ग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिईन् ।

दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकमा आइतबारको घटनाका सम्बन्धमा विस्तृत जानकारी गराएका थिए । काङ्ग्रेसले प्रतिनिधिसभा नियमावलीअनुसार सवाल–जवाफ गर्न नपाएको भन्दै आइतबारको संसद् बैठक अवरुद्ध गरेको थियो ।

काङ्ग्रेसको अवरोधका बाबजुद सभामुखले संसद् बैठक प्रक्रिया अघि बढाउनुभएको थियो । साथै दलको बैठकमा संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउन छायाँ सरकार गठन गर्ने र सांसदलाई विषयगत जिम्मेवारी तोक्ने विषयमा समेत छलफल भएको थियो ।

बैठकमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सरकारका कमीकमजोरी र जनचासोका विषयमा खबरदारी गरिरहन निर्देशन दिका थिए। प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्दैछ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot