Logo

वाईडबडी प्रकरणमा देउवा मुछिएपछि रामशरण महतको यस्तो टिप्पणी



काठमाडौं, ३० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री डा. रामशरण महतले वाईडबडी विमान खरिद प्रकरणमा अनियमितता गर्ने जो कोही भएपनि कारबाहीको भागिदार हुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम ‘नेपाली बहस’ को लागि सोमबार विहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले यस्तो बताएका हुन् । उनले वाईडबडी खरिद प्रक्रिया अनियमिततामा संसदीय समितिले छानबिन गरेर प्रतिवेदन अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा बुझाईसकेकोले अब अख्तियारले छानबिन गरेर दोषीलाई कारबाही गर्ने विश्वास दिलाए ।

तपाईकै पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पनि यो प्रकरणमा नाम मुछिएको छ नि भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘यो त अनुशन्धानको कुरा हो । लेखा समितिले प्रतिवेदन पारित गरेको छ । अहिले प्रतिवेदन अख्तियार पुगेको छ । अख्तियारले अहिले छानबिन गरिरहेको छ । को–को दोषी छन् भन्ने कुरा अदालतमा निक्र्यौल हुन्छ ।’

यद्धपी उनले पार्टी सभापति देउवाले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता छैन भनेर स्पष्ट पारेका पनि सुनाए । महतले भने,‘यो अब छानबिनको विषय हो । संसदीय समितिले ल्याएको प्रतिवेदन हेर्नुपर्छ । त्यसको आधारमा अख्तियारले छानबिन गर्नुपर्छ ।’

तपाईकै पार्टीका नेता एवम् पूर्व पर्यटनमन्त्री जितेन्द्रनारायण देवले त आफू खरिद प्रक्रियामा संलग्न नरहेको भनेर दाबी गर्नुभएको छ र आफ्नो चरित्र हत्या भएको पनि बताउनुभएको छ नि भनेर सोधेको प्रश्नमा उनले भने,‘यो छानबिनको विषय हो । अख्तियारले अनुशन्धान र छानबिन गर्छ नि ।’

उनले आफ्नो पार्टीभित्र पनि भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भन्ने जनमत रहेको सुनाए । उनले भने,‘जसले भ्रष्टाचार गरेको छ, त्यसलाई छानबिन गर्नुपर्छ । नगरेको मान्छेको नाम मुछेर हल्ला गर्नुभएन । बिना पूर्वाग्रह छानबिन गर्नुपर्छ ।’

फरक प्रसँगमा उनले बोल्दैमा विकास नहुने जिकिर गरे । उनले थपे,‘बोलेर विकास हुने हो र ? यहाँ कामभन्दा कुरा बढि भएको छ । सरकार अर्थतन्त्रको विकास भन्दापनि राजनीतिक मुद्दामा घुमिरहेको छ । उहाँले गरेरमात्रै विकास हुँदैन । यसको लागि सम्पूर्ण शक्ति लाग्नुपर्छ । अहिले वातावरण छैन । पहिला वातावरण बनाउनुपर्छ ।’

त्यस्तै उनले आफ्नो पार्टीले छायाँ सरकार गठन गर्ने भनेर गरेको निर्णयप्रति पनि त्यति सन्तोष मानेका छैनन् । उनले भने,‘संसदमा आफ्ना विचारहरु पेश गर्नुपर्छ । कुरोमात्रै होईन, काम हेर्ने हो । उनीहरुले प्रतिपक्षको भूमिका कति सशक्त ढंगले निभाउन सक्छन् ? सरकारले गरेका गलत कामहरु खबरदारी गर्नुपर्छ । सही कामको प्रशंसा गर्नुपर्छ ।’

देश कता जाँदैछ ? भनेर धमलाले राखेको अर्को जिज्ञासामा उनले भने,‘विकास र समृद्धि त भाषणमा सुरु भएको छ । तर, काममा भएको छैन् । प्रधानमन्त्री र मन्त्रीहरुले भाषण गर्दैमा समृद्धि हुने होईन । देशमा जताततै भ्रष्टाचार बढेको देखिन्छ । सुशासनको अभाव देखिन्छ । शान्ति, सुरक्षााको समस्या छ । व्यवसायीहरु आतंकित देखिन्छन् । अनि लगानी बढिरहेको छैन् । समयमै विकास निर्माणका कामहरु भएका छैनन् । यस्तो अवस्थामा देश कसरी विकास र समृद्धितर्फ अघि बढ्न सक्छ त ?’

तर, प्रधानमन्त्रीले त मेरै पालामा देश विकास हुन्छ भनेर बोलिसक्नुभएको छ त ? भन्ने अर्को प्रश्नमा उनले भने,‘मैले भने नि, बोलीले देश विकास हुने भएको त उहिल्यै देश विकास भैसक्थ्यो ।’ सरकारले जनताको मन जित्न नसकेको पनि उनको गुनासो छ । उनले भने,‘सरकारले जनताको मन जित्नु त परै जाओस । आशालाई निराशामा परिणत गरेको छ ।’

अनशनरत डा. गोविन्द केसीबारे के भन्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने,‘संसदमा विचाराधिन विषयमा मैले के भन्ने ? सही निर्णय गर्छन भन्नेमा म विश्वस्त छु । सरकारसँग भएको सम्झौताअनुसार काम हुनुपर्छ । संसदको विद्येयक अघि बढ्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot