कैलाली, ३० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले वाइड बडी जहाज खरीद गर्ने निर्णय नगरेको स्पष्ट पारेका छन् ।
नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामानै उपसमिति गठन गरेर वाइड बडी जहाज खरीद प्रक्रिया शुरु गरिएकोमा पुष्पकमल दहाल नेतृत्वको सरकारले जहाज खरीदका लागि जमानत बसेर बोलपत्र आह्वान गरेको जिकिर गरे । ‘आफ्नो नाम जोडेर भ्रम फैलाइएकामा दुःख व्यक्त गर्दै देउवाले भने, ‘विमान खरीदमा अनियमित गर्ने दोषीमाथि कारवाही गर्नुपर्छ ।’
चिकित्सा शिक्षालाई स्तरीय र युग सुहाउँदो बनाउन प्रा डा गोविन्द केसीसँग वार्ता गरेर आफ्नो नेतृत्वको सरकारले विगतमा ऐन ल्याएको देउवाले बताए । उनले अहिलेको सरकारले उक्त ऐन अध्यादेशमार्फत संशोधन गर्न खोजेको प्रति विरोध जनाए ।