Logo

वाईडबडी भ्रष्टाचार प्रकरण : देउवालाई पार्टीभित्रैबाट घेराबन्दी !



काठमाडौं, १ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध असन्तुष्ट समूहले मोर्चाबन्दी सुरु गरेका छन् । देउवाको नाम वाईडबडी खरिद प्रकरणमा मुछिएपछि मौका छोपेर पार्टीभित्रैबाट उनीविरुद्ध मोर्चाबन्दी सुरु भएको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवालाईमात्रै होईन, यो प्रकरणमा दोषी देखिएका जो कोही लाईपनि छोड्न नहुने भन्दै आक्रामक अभिव्यक्ति दिएको छ । हिजोमात्रै पनि नेता पौडेलले सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर चेतावनी दिईसकेका छन् ।

खरिद प्रकरणमा सभापतिको पनि नाम मुछिएकोबारे नेता पौडेलले छानबिन समितिको निश्कर्ष बाहिर आएपछि थप स्पष्ट हुने बताए । तर, सभापति होस वा अन्य कोही नेता नै भएपनि कसैलाई पनि उन्मुक्ति दिन नहुने उनको भनाई छ । उनले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ खरिद प्रक्रियामा देखिएको अनियमितताप्रति छानबिन हुनुपर्ने माग गरे ।

सरकार शान्ति–सुरक्षा र विकासमा असफल भएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले विकास निर्माणका सन्दर्भमा बनिसकेका अस्पताल विघटन गर्न खोजेर उल्टो बाटोमा हिँडेको आरोप लगाएका थिए । कांग्रेस हालसम्म संयमित र जिम्मेवार प्रतिपक्षको भूमिकामा सरकारलाई बेलाबेलामा सचेत गराउँदै आएको बताउँदै उनले आफूहरुले सरकारलाई सुझाव दिँदै आएको भएपनि नसुनेको आरोप लगाएका थिए ।

उता देउवाले वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बरु देउवाले पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आह्वान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएकोले आफ्नो कुनै संलग्नता नरहेको तर्क गरेका छन् । हिजो सोमबार सुदूर पश्चिमको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले दाहाल प्रधानमन्त्री हुँदा २०७४ वैशाख ७ गते जहाज खरिदमा सरकार जमानी बस्ने निर्णय भएको स्पष्ट पारेका थिए ।

उनले भनेका थिए,‘म प्रधानमन्त्री हुँदा १९ मन्त्रालय मेरो जिम्मेवारीमा थिए। भर्खरै प्रधानमन्त्री भएको बेला थियो, कुन मन्त्रालयमा के भयो मलाई जानकारी छैन,’ देउवाले भने, ‘मैले मन्त्रीस्तरीय निर्णय पनि गरेको छैन। मेरो अधिकार पनि होइन। मेरो जानकारीबिना केही भयो होला मलाई थाहा छैन।’ जहाज खरिदमा आफ्नो नाम जोडेर अन्यापूर्ण काम गरिएको देउवाको आरोप छ ।

‘त्यसै नाम जोड्ने कुरा भएन नि, यो अन्यायपूर्ण हो,’ देउवाले भने, ‘प्रचण्डजी प्रधानमन्त्री छँदा नै सरकार जमानी बस्ने निर्णय गरेको छ। मैले कुनै निर्णय गरेको थिइनँ। अनि मलाई किन दोष?’



प्रतिक्रिया दिनुहोस्

Screenshot