Logo

डा. केसी फकिने मान्छे होइन, माग पूरा नभएसम्म अनसन जारी : डा. सिंह



डा. अभिषेक सिंह
डा. केसीका पक्षधर
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पुगेको छ । सरकारले प्रस्तुत गरेको विधेयकमा सरकारले नै डा. गोविन्द केसीसँग गरेको सम्झौताको मर्म नसमेटिएको भन्दै केसी १६ औँ अनसनमा छन् । सरकारले भने केसीको अनसनलाई वेवास्ता गरिरहेको छ । यसै विषयमा डा केसीका सहयोगि तथा पक्षधर डा. अभिषेक सिंहसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कस्तो छ ?
डा. केसीको स्वास्थ्य अवस्था उच्च जोखिममा छ ।

सरकारले केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न लागिको दावी गर्दै आएको छ । केसी किन अनसन बस्नुभयो ?
सरकारले सबै माग पूरा भएको छ भनेर भ्रम सृजना गरेको छ । तर डा. केसी कसैले फकाएर फकिने मान्छे होइन । उहाँले चिकित्सा शिक्षा क्षेत्रको लागि लामो संघर्ष गर्नुभएको छ । विधेयकमा केसीसँग भएका सम्झौता नै पालना गरिएको छैन ।

सम्झौता सबै पालना गर्न सकिदैन भनेर सरकारले स्पष्ट पारिसकेको छ । अब कसरी समस्या समाधान हुन्छ त ?
सरकार आफैँले सम्झौता गरेर पालना गर्न सक्दिन भन्नु दुखद कुरा हो । सरकारको यस्तो प्रवृत्तिले हामी कहीँ पनि पुग्न सक्दैनाँै । सरकारले सम्झौता गर्ने तर अहिले आएर प्रधानमन्त्रीले नै संसदबाट हुने काममा हस्तक्षेप गर्न सकिदैन भन्नु गैरजिम्मेवारीपन हो । डा. केसीले जित्नु भनेको प्रधानमन्त्रीले पनि जित्नु हो । तीन करोड नेपालीले पनि जित्छन् ।

डा. केसीले संसदको सर्वोच्चता मान्नुपर्छ कि पर्दैन ?
डा. केसीले संसदको सर्वोच्चता मान्नुभएको छ । संसदीय प्रक्रियाबाट नै विधेयक सम्झौताअनुसार पारित गर्नुपर्छ । विधेयक कस्तो पेश गर्ने भन्ने कुरा त सरकारको हातमा छ नि ।

डा. केसीसँग गरेको सबै सम्झौता पालना गर्नुपर्छ भनेर कहाँ लेखेको छ र ?
डा केसीसँग गरेको सम्झौतालाई एउटा व्यक्तिसँग गरेको सम्झौताको रुपमा लिन हुँदैन । उहाँले त सिङ्गो चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्नुभएको हो । केसीले व्यक्तिगत फाइदाका लागि अनसन बस्नुभएको होइन ।

यसपटक केसी अनसन बस्नका लागि किन इलाम पुग्नुभयो ?
इलाम भनेको पूर्व सभामुख सुवास नेम्वाङ र पूर्व प्रधानमन्त्री झलनाथ खनालले पटक पटक चुनाव जितेको ठाउँ हो । तर इलाममा स्वास्थ्य सेवा राम्रो छैन । खनाल आफैँ विरामी हुँदा विदेशमा उपचार गर्न जाने अनि त्यहाँका जनताले चाँही के गर्ने ? काठमाण्डौ उपत्यका बाहिर राम्रो स्वास्थ्य सेवा छैन भनेर सन्देश दिनका लागि इलाम पुग्नुभएको हुन सक्छ । इलाम अस्पतालको अवस्था यस्तो छ कि एउटा अक्सिजन दिनसक्ने अवस्था पनि छैन । यस विषयमा नेताहरु र सरकारले बुझ्नुपर्दैन ?

सरकारले केसीको अनसन र मागलाई वेवास्ता गरिरहेको छ । अब कसरी अगाडि बढ्नुहुन्छ ?
लामो समयदेखि केसीले आफ्ना माग शान्तिपूर्ण तरिकाले राख्नुभएको छ । अब पनि शान्तिपूर्ण तरिकाले नै दबाब सृजना गर्दै जाने हो ।

केसीको मागप्रति डाक्टर नर्सहरुले साथ दिन्छन् त ?
नेपाल चिकित्सक संघले त केसीको माग पूरा गराउनका लागि विज्ञप्ति निकालिसकेको छ । साथ दिने नदिने सबैको व्यक्तिगत कुरा हो । हाम्रो मागबाट पछि हट्दैनौँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot