काठमाडौं, ६ माघ ।डाक्टर गोविन्द केसीका समर्थक एवम् अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सरकारले केसीसँग गरेको सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दैउनले भने,‘सरकारले नै अहिलेको समस्याको सिर्जना गरेको हो । अब यसको समाधानपनि सरकारले नै गर्न सक्छ ।’ डाक्टर केसीको अनशन आम नागरिकको पक्षमा रहेको उनको भनाई छ ।
दुई तिहाईको नाममा वर्तमान सरकार निरंकुश बन्दै गैरहेको पनि उनले आरोप लगाए । उनले थपे,‘सरकारले केसीसँग गरेको सम्झौता पूर्ण रुपमा पालना गर्नुपर्छ ।’ अबको समाधान भनेको नै सरकार लचिलो बन्नुपर्ने उनले सुझाए ।
आफूहरुले अहिले संविधानको सर्वोच्चतामा रहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले केसीसँग गरेको सम्झौता पूरा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘प्रधानमन्त्री भनेको त मुलुकको अभिभावक हो । अभिभावकले ढाँट्दैन् ।’
उनले भने,‘कतै प्रधानमन्त्री संसदमा अल्पमतमा त हुनुहुन्न भन्ने प्रश्न उब्जिएको छ । उहाँले आँफै सम्झौता गरेको कुरा किन लागु गर्नुभएन ? किन सम्झौता कार्यान्वयन गर्नुभएन ? प्रधानमन्त्रीजस्तो व्यक्तिले उदण्ड रुपमा बोल्न मिल्दैन् ।’
डाक्टर केसी निष्ठापूर्वक देश र जनताको पक्षमा अनशन बसेको भण्डारीको भनाई छ । तर, केसीको विरुद्धमा विजय थापा अनशन बसेको कुरालाई अनशनको रुपमा लिन नसकिने उनको तर्क छ । उनले भने,‘विजय थापा निष्ठापूर्वक अनशन बसिरहेका होईनन् । उनलाई कसैले उक्साएका छन् ।’