माघ ९, काठमाण्डौ । राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांकअनुसार २०७५ मंसिरदेखि पुस २६ सम्ममा ३ सय ३४ जना विरामीको घाँटीको ¥याल परिक्षण गरिएकोमा १ सय ६८ जना विरामीहरुमा इन्फ्लुएन्जा प्रमाणित भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको घाँटीकोे ¥यालको नमुना परीक्षण गरिएकामा १ सय ६८ जना बिरामीमा इन्फ्लुएन्जा प्रमाणित भएको हो । तीमध्ये १ सय ४६ जनामा इन्फ्लुएन्जा ए–एच१एन१ (स्वाइन फ्लु), ९ जनामा इन्फ्लुएन्जा ए एच ३ र १३ जनामा इन्फ्लुएन्जा बी प्रमाणित भएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा सन्तोष झाका अनुसार विशेषगरी गर्भवती महिला, ५ वर्षमुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका मानिसमा, रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिहरु र दीर्घ रोगबाट प्रभावितमा यसको जोखिम बढी हुन्छ । विश्व स्वास्थ्य संगठनले सन् २०१० देखि स्वाइन फ्लुलाई मौसमी रुघाखोकीकै श्रेणीमा राखेपछि नेपाल सरकारले समेत यसलाई मौसमी रुघाखोकी भन्ने गरेको डा झाले जानकारी दिएका छन् ।
ओम अस्पतालको आईसीयूमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको थियो । तीन दिनअघिसमेत ओमकै आईसीयूमा रहेका एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत लगिएको थियो । अस्पतालका निर्देशक डा. केपी देवकोटाले राजधानीमा अहिले स्वाइन फ्लु प्रकोपकै रूपमा देखिएको बताएका छन् ।
सन् २००९ देखि नेपालको विभिन्न भुभागमा बेलाबेलामा स्वाइन फ्लु देखिने गरेको छ ।स्वाइन फ्लू सबै उमेर समुहका मानिसमा देखिन सक्छ । स्वाइन फ्लू देखिएको बिरामीबाट अर्को स्वस्थ मानिसमा हावाको माध्यमबाट सर्छ । बिरामीले खोक्दा, हाछ्यु गर्दा, बोल्दा थुकका साना कणबाट हावामा फैलन्छ ।
यो रोगको जीवाणु सार्वजनिक स्थानहरू जस्तैं रेलिङ, ढोका, लिफ्ट आदिमा घन्टौंसम्म जिवित रहन सक्छ । त्यसैले हातले त्यो ठाउँ छोएमा शरीरमा प्रवेश गर्छ र श्वासप्रश्वास नली र फोक्सोमा संक्रमण भएपछि स्वाइन फ्लूको समस्या देखिन्छ । उल्लेखित लक्षणहरू देखिएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा गएर तुरुन्त परीक्षण गराउनुपर्छ । चिकित्सकको सल्लाह बमोजिम थुक वा रगत परीक्षण गर्नुपर्छ ।