Logo

डाबोसमा ओलीको प्रयासलाई सम्मान गर्नुपर्छ, संसदमा अवरोध गरेर विकास हुँदैन : पूर्व गभर्नर क्षेत्री



दिपेन्द्रबहादुर क्षेत्री, पूर्व गभर्नर, नेपाल राष्ट्रबैँक

विश्व आर्थिक मञ्चमा नेपालको सहभागिता पहिलो पटक भएको छ । प्रधानमन्त्री केपी ओलीको यो सहभागितालाई महत्वपूर्ण अवसरका रुपमा लिइएको छ । नेपालको यो सहभागिताले के कस्ता फाइदा हुन्छन् त ? ओली सरकारले आर्थिक विकासको अभियान कसरी बढाइरहेको छ ? यिनै विषयमा केन्द्रित भएर ऋषि धमलाले पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

विश्वका चर्चित नेताहरु डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी, सि जिन पिङ, पुटिन लगायतको सहभागिता नभएको बैठक के कारणले महत्वपूर्ण भयो ?
उहाँहरु आ–आफ्नै परिस्थितीले सहभागि नहुनुभएको हो । ट्रम्पको देशमा बजेटको किचलो भइरहेको छ । बेलायत ब्रेक्जिटका कारण पनि संकटमा छ । मोदी पनि आसन्न निर्वाचनको संघारमा छन् ।

नेपालका प्रधानमन्त्री ओलीको सहभागिताले देशलाई के फाइदा छ ?
विगत लामो समयदेखि द्धन्द्धमा फसिरहेको नेपाल अहिले सहज अवस्थामा छ । दुई तिहाइको स्थायी सरकार छ । अब आर्थिक विकास बाहेक अरु कुनै पनि योजना छैन । यो सन्देश संसारलाई दिने अपूर्व थलो हो । यसले लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेल्छ ।

दुई तिहाईको स्थायी सरकार भए पनि आर्थिक उपलब्धि त ठप्पै छ नि ?
ठप्पै त नभनौँ । अहिले विश्व बैँक र अन्तराष्ट्रिय मुद्रा कोषले पनि आर्थिक विकास साँढे पाँच प्रतिशत हुन्छ भनेर प्रक्षेपण गरेको छ । यद्यपी सरकारको अनुमान ८ प्रतिशत थियो ।

चालु आर्थिक वर्षमा पुँजिगत खर्च हुनै सकेको छैन । केलाई उपलब्धि मान्ने ?
हो तपाईले भनेजस्तो कतिपय कुरा सत्य हो । अहिले अर्ध वार्षिक अवस्थामा पनि १७ प्रतिशत मात्रै पुँजिगत खर्च भएको छ । यस विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले पनि मुख खोल्नुभएको छ । उहाँले भन्नुभयो–हाम्रो जस्तो मुलुकमा पुँजिगत खर्च नभएर पुरै अर्थतन्त्रलाई असर पर्दैन । तर उहाँको यो कुरामा म सहमत चाँही छैन ।

पुँजिगत खर्च नहुनुको अर्थ के हो ?
पुँजिगत खर्च नहुनु भनेको आन्तरिक रुपमा हामीले नै लगानी गर्न सक्ने क्षमता छैन भन्ने प्रमाणित भएको छ ।

भनेपछि नेपालमा वैदेशिक लगानी नभए आर्थिक विकास हुनै नसक्ने हो त ?
हामीलाई वैदेशिक लगानी आवश्यकता पर्छ । द्धिपक्षीय र बहुपक्षीय लगानी नेपाललाई आवश्यक छ । यसका लागि प्रधानमन्त्री ओलीले विश्व आर्थिक मञ्चबाट प्रयास गर्नुभएको छ ।

प्रधानमन्त्रीले धेरै तबरले प्रयास गर्नुभएको छ । तर अहिलेको सरकारले जनताका आवश्यकता पूरा गर्न सकेको छ त ?
नेपालमा विगतदेखि नै धेरै समस्याहरु यथावत छन् । एकैपटक जादुको छडीले झैँ फू गरेर समस्या समाधान हुँदैन । सरकारले केही काम गर्न थाल्यो भने त्यसलाई अल्झाउने, रोक्ने, टोक्ने काम भइरहेको छ । अहिलेको संसदमा के भइरहेको छ ? त्यहाँबाट पनि अवरोध के कसरी भइरहेको छ भन्ने बुझ्न सकिन्छ ।

विश्व आर्थिक मञ्चको बैठकमा प्रधानमन्त्रीको भूमिका कस्तो पाइरहनुभएको छ ?
हामी लगानीको वातावरण बनाउँछौँ, तपाईहरुले पनि सहयोग गर्नुपर्यो भनेर भनिरहनुभएको छ । सम्भावित लगानीकर्तालाई विश्वास दिलाउन प्रयास गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot