Logo

सरकार सन्तुलित विकासमा केन्द्रित छ: मुख्यमन्त्री शाही



सुर्खेत, १० माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारको ध्यान सन्तुलित विकासमा केन्द्रित भएको बताउनुभएको छ ।

सुर्खेत पश्चिममा अवस्थित चौकुने गाउँपालिका– ६ जीवनज्योति माविको भवन शिलान्यास गर्न आज यहाँ पुग्नुभएका मुख्यमन्त्री शाहीले विकासका हिसाबले सुर्खेत पश्चिम पनि साविकको कर्णाली झैँ दुर्गम भएको जनाउनुभयो ।

“ठूलो भूगोल ओगटेको कर्णाली प्रदेशको विकासलाई सन्तुलित गर्ने उद्देश्यले यही माघ १४ र १५ गते प्रदेश सरकारले प्रदेश समन्वय परिषद्को पहिलो बैठकको आयोजना गरेको छ”, उहाँले भन्नुभयो, “बैठकबाट यो प्रदेशको विकासको वास्तविक चित्र कोरिन्छ ।” यो सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा मात्र विकास र समृद्धि सम्भव रहेको उहाँले बताउनुभयो ।

उहाँले प्रदेश सरकारको रु ३० लाख लागतमा निर्माण हुने जीवनज्योति माविको भवन शिलान्यास गर्नुका साथै आजै जनजागृति मावि चौकुने– ५ सुर्खेतको ४७ औँ स्थापना तथा अभिभावक दिवसकोसमेत उद्घाटन गर्नुभएको थियो ।

मुख्यमन्त्री शाही त्यहाँ पुगेपछि पश्चिम सुर्खेतका बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका नागरिकले सडकको स्तरोन्नति र केन्द्रीय विद्युत् प्रसारण लाइनको मागपत्र बुझाएका थिए । उहाँले बड्डीचौर–गुटु–बेनीघाटसम्मको सडकको स्तरोन्नति र केन्द्रीय विद्युत् प्रसारण लाइन जडानमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्