Logo

अमेरिकी सिनेटमा सहमति जुटेन



काठमाडौँ,११ माघ । अमेरिकी माथिल्लो सदन सिनेटले पनि मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट विनियोजन गर्ने विषयमा भइरहेको मतान्तरका कारण विगत एक महिनाभन्दा बढी समयदेखि जारी सङ्घीय कार्यालयहरुको आंशिक बन्द खुलाउन असफल भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न करिब ६ अर्ब डलर बजेट पारित गर्न अमेरिकी कङ्ग्रेस समक्ष अनुरोध गर्नुभएको छ । तर, राष्ट्रपतिको प्रस्तावलाई डेमोक्र्याट पार्टीले अस्वीकार गरेसँगै विवाद जारी छ ।

रिपब्लीकन पार्टीको झिनो बहुमत रहेको सिनेटमा समेत सहमति नजुटेपछि राष्ट्रपति ट्रम्पले सीमा सुरक्षालाई ध्यान दिएर पुनः “उपयुक्त” प्रस्ताव ल्याउने सङ्केत गर्नुभएको छ ।

कङ्ग्रेस र राष्ट्रपतिको यस लडाइँका कारण हजारौं सङ्घीय कर्मचारीले दोस्रो तलब भुक्तानी प्राप्त गर्ने सम्भावना पनि टर्न लागेको छ । यसअघि नै आठ लाखभन्दा बढी सङ्घीय कर्मचारीलाई बेतलबी विदा दिइएको छ वा काम गरिरहेकाहरुले तलब पाउन सकेका छैनन् ।

सीमामा पर्खाल निर्माण गरेरै छाड्ने भनी प्रतिष्ठाको विषय बनाउनुभएका राष्ट्रपति ट्रम्प र विपक्षी डेमोक्र्याट पार्टीका कारण आफूहरु समस्यामा परेको भन्दै कर्मचारीहरुले दिनहुँ जुलुस निकाल्न थालेका छन् ।

सिनेटमा रिपब्लीकन नेता मिच म्याक्कोनेल र डेमोक्र्याट नेता चक सुमरले राष्ट्रपतिसँगको भेटवार्तामा राष्ट्रपति अझै पनि पर्खाल निर्माणका लागि बजेट नभई नहुने अडानमा यथावत् रहेको जानकारी दिनुभयो । राष्ट्रपति ट्रम्पले दुबै नेतासँगको छलफलमा भन्नुभयो, “यस मुलुकमा पर्खालको विकल्पै छैन ।”

एकसय सदस्यीय अमेरिकी सिनेटबाट बजेट पारित गर्न ६० प्रतिशत मत आवश्यक पर्दछ । विपक्षी डेमोक्र्याट पार्टीको समर्थन बेगर यस्तो बजेट पारित हुने सम्भावना छैन । उता, तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा पनि रिपब्लीकन पार्टी अल्पमतमा छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot