Logo

डाबोसबाट आज फर्किंदै प्रधानमन्त्री



काठमाडौं १२ माघ । विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली शनिबार स्वदेश फर्किंदै छन् । मञ्च बैठकमा नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् विश्व अर्थराजनीतिबारे बहस भयो । स्विट्जरल्यान्डको डावोसमा पुगेका प्रधानमन्त्री ओली दुई वटा औपचारिक सत्रमा सहभागी भए । उक्त अवसरमा उनले विश्व समुदायलाई लगानीका लागि आग्रह पनि गरे।

उदघाटन सत्रमा सहभागिता मात्र जनाएका उनले ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ र ‘लोकतन्त्रको भविष्यलाई आकार दिने’ नामक दुई सत्रमा मंगलबार र बुधबार आफ्ना धारणा राखे । यसका अतिरिक्त उनले साइडलाइन भेटवार्ता पनि गरे । अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रधानमन्त्री ओलीले नेपाल वकासमा अघि बढिसकेको र त्यसका लागि विश्व समुदायको लगानी आवश्यक रहेको बताए ।

सामाजिक एवं आर्थिक रूपान्तरणका लागि सरकारले आफूलाई केन्द्रित गर्दै विकासको पाइला अघि बढाएको पनि उनको भनाइ छ । सरकार लोकतान्त्रिक विधिबाट निर्वाचनमा आएको र दिगो विकास एवं जनतामा समर्पित भएर काम गरिरहेको उनले बताए । सरकार प्रधानमन्त्री मातहत अधिकार केन्द्रित गर्न लागेको भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले त्यस्तो नरहेको दाबी गरे । ‘लोकतन्त्रका लागि ५० वर्ष लडेको र करिब डेढ दशक जेल बसेको व्यक्ति हुँ’, उनले भने, ‘म शासक हुन सक्दिनँ, जनताको सेवक मात्र हुँ ।’ विदेशी लगानीका लागि वातावरण बनेको स्पष्ट पार्दै उनले प्रेस स्वतन्त्रता एवं लोकतन्त्र एकअर्काको परिपूरक रहेको धारणा राखे ।

अन्तर्राष्ट्रिय फोरममा नेपालमा लगानी वातावरण बनेको सन्देश दिनुलाई सकारात्मक मान्नुपर्ने कूटनीतिज्ञ एवं अर्थविद्हरूको भनाइ छ । आह्वानबाट मात्र लगानी नआउने विषयमा प्रधानमन्त्री सचेत हुनुपर्ने उनीहरूको सुझाव छ ।

‘अनौपचारिक फोरममा आफ्नो कुरा राख्ने हो, प्रधानमन्त्रीले राख्नु भयो । यसलाई राम्रै मानांै’, पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले भने, ‘प्रधानमन्त्रीको धारणा कत्तिको विश्वासिलो थियो भन्ने विषय मुलुकभित्र हुने क्रियाकलापमा निर्भर गर्छ ।’

लोकतन्त्रका लागि ५० वर्ष लडेको र करिब डेढ दशक जेल बसेको व्यक्ति हुँ । म शासक हुन सक्दिनँ, जनताको सेवक मात्र हुँ । केपी ओली प्रधानमन्त्री

सरकारले लगातार लगानी आह्वान गरिरहेको योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बताए । ‘प्रस्तुति राम्रो भए पनि प्रधानमन्त्रीले लगानी र वातावरण स्पष्ट पार्न सकेनन्’, उनले भने । पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले प्रधानमन्त्रीको प्रस्तुति राम्रै रहे पनि तयारी कम भएको सुनाए । नेपालबाट प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका दुई सल्लाहकार, योजना आयोगका उपाध्यक्ष र सरकारी अधिकारीसहित २४ जना सहभागी थिए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot