-ऋषि धमला
यतिबेला नेपाल–भारत सम्बन्ध सही मार्गमा पुगेको छ । विगतका आशंकाहरू चिर्दै दुवै देशको राजनीतिक, कर्मचारीतन्त्र र सैन्य तहसम्म सम्बन्ध प्रगाढ बन्दै छ । भूगोलको निकटता मात्र नभएर सांस्कृतिक सामीप्यताका कारण ऐतिहासिक सम्बन्ध रहेका दुवै देशका लागि सकारात्मक विषय हो । सम्बन्ध सुदृढ बनाउन दुवै पक्षबाट भएका कदमको चासो र स्वागत हुँदै आएको छ ।
सन् २०१८ मा नेपाल–भारत सम्बन्धले नयाँ उचाइ प्राप्त ग¥यो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी दुईपटक नेपाल भ्रमणमा आए । कुनै पनि भारतीय प्रधानमन्त्रीले नेपाललाई यति चासो दिएको र पटकपटक भ्रमण गरेको पहिलोपटक हो । मोदी नेपाल भ्रमणका बखत मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्न पुगेका थिए । बिमस्टेक सम्मेलनको दौरान नेपाल आए । मोदी जनकपुरधाम पुगे । उनको नागरिक सम्मान भयो । मोदीले नेपालप्रति स्नेहभाव मात्रै देखाएनन् सबैभन्दा निकटकको मित्र रहेको सन्देश प्रवाह गरे ।
नेपाल भ्रमणका दौरान मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लाएक्लै वार्ता गरे । तर, जसरी मोदीले खुलेर कुरा गरे, त्यसरी नै ओली खुलेको विषय उठ्यो । तथापि, बेला बेलामा शंका उठ्ने विषयले ठाउँ पायो । विशेषगरी बिमस्टेक सदस्य राष्ट्र«हरूबीचको सैन्य अभ्यासमा अन्तिम समयमा नेपाल पछि हट्दा आशंकाहरू बढे । आशंका मेट्न कूटनीतिक प्रयाससमेत भएपछि सम्बन्ध सही मार्गमा फर्कियो । यस्तै तीतामीठा विषयका बाबजुद नेपाल–भारत सम्बन्धले पृथक र महत्वपूर्ण परिचय बोकेको छ । दुवै देश एकअर्कासँग नजिक भइछाड्छन् । एक देशको राजनीतिक घट्नाक्रमले अर्को देशमा असर पुगिहाल्छ । त्यसैले होला मोदीले लोकसभा चुनाव नजिकिँदै गर्दा नेपाल मामलामा निकै चासो दिइरहेका छन् । सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन कदम चाल्दै आएका छन् ।
ओली जति भारतबाट टाढिन खोजे पनि मोदीले टाढिन नदिने गरी कूटनीतिक पहल गर्दै आएका छन् । कूटनीतिक रूपमा सबै शक्ति र मित्रहरूसँग सुदृढ सम्बन्ध बनाउनुको विकल्प छैन । ओलीले भारतसँगको भौगोलिक र सांस्कृतिक निकटतालाई भुल्ने सवाल आउँदैन । कहिलेकाहीं टाढिएको जस्तो देखिए पनि ओली–मोदी नमिली सुखै छैन । दुवैको रसायन मिलेको छ, जुन व्यवहारमा देखिँदै जानेछ । नेपाल–भारतबीचको जनस्तरको सम्बन्धको कारणले नेपालले पहिलो प्राथमिकतामा भारतलाई राखेर जानु नै हित हुन्छ ।
ओली दुई तिहाइ बहुमतको समर्थन प्राप्त प्रधानमन्त्री हुन् । नेपालको इतिहासमा बीपी कोइरालापछि दुई तिहाइ बहुमतको समर्थन प्राप्त प्रधानमन्त्री ओली नै हुन् । ओली पार्टी्भित्र पनि शक्तिशाली छन् । जनतालाई विश्वासमा लिएर जनताको हितमा काम गर्ने दृढ इच्छाशक्ति छ ।
उनी निडर नेताको परिचय बनाउन सफल छन् । हिम्मतिला प्रधानमन्त्री ओलीका लागि अवस्था अनुकूल छ । उनले आफ्नो दृढ इच्छाशक्तिको सही कार्यान्वयन गर्न सके देशको काँचुली फेरिनेछ । त्यसका लागि उनले कूटनीतिक कौशल प्रदर्शन गर्नुपर्छ । भारतीय जनता पार्टीले सन् २०१४ को लोकसभा चुनावमा बहुमत ल्याउँदा मोदीको करिश्माले काम गरेको थियो । व्यक्तिगत सुखभन्दा माथि उठेर देश हितमा केन्द्रित छन् । उनमा दृढ इच्छाशक्ति र साहस छ । भारतलाई विश्वकै शक्तिशाली देश बनाउने दिशामा उनले चालेका कदम प्रशंसनीय छन् । मोदी सरकारले बाह्य मुलुकसँगको सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिका चासोको विषय बनेको छ ।
ओलीले भारतसँगको भौगोलिक र सांस्कृतिक निकटतालाई भुल्ने सवाल आउँदैन । कहिलेकाही“ टाढिएको जस्तो देखिए पनि ओली–मोदी नमिली सुखै छैन । दुवैको रसायन मिलेको छ, जुन व्यवहारमा देखिँदै जानेछ
ओली र मोदीको कदम र स्वभाव मिल्छ । दुवै करिश्मामयी व्यक्तित्व भएका नेता हुन् । सटिक बोल्न र जोखिम मोलेर आवश्यक कदम चाल्न तयार हुने भएकाले दुवैको केमिस्ट्री मिल्छ । यही केमेस्ट्रिले दुवैलाई नजिक ल्याउँछ र एक आपसमा सुमधुर सम्बन्ध निर्माण गर्ने माहोल तयार हुन्छ । केमेस्ट्री मिलेका दुई नेता नेपाल र भारतको प्रधानमन्त्री हुनु सुनौलो अवसर पनि हो । दुवै नेता मिलेर एक अर्काको हितमा महत्वपूर्ण कदम चाल्न सक्छन् । दुवैको उद्देश्य समान छ । मोदी भारतलाई आर्थिक समृद्धिको दिशामा बढाइरहेका छन् भने ओलीको चाहना यही हो । जब केमिस्ट्री र इच्छाशक्ति मिल्छ भने नतिजा एक अर्काको हितका पक्षमा आउन सक्छ । यो अवसरलाई सदुपयोग गर्न जरुरी छ ।
मोदी जस्तो नेपाललाई माया गर्ने भारतका प्रधानमन्त्री हुनु नेपालका लागि लाभदायक अवस्था हो । त्यसमाथि मोदी धार्मिक भ्रमणका लागि भन्दै नेपाल आइसके । नेपालमा रहेका मन्दिरहरूलाई मोदी पूज्छन् । भाकल गर्दै बारम्बार नेपाल आएर दर्शन गर्छन् । जुन देशको मन्दिरप्रति मोदीको अगाध आस्था छ, त्यो देशप्रति मोदीमा श्रद्धा पनि देखिन्छ । उनले जहिले पनि नेपालको विकास र प्रगतिको कामना गरेका छन् । भूकम्पका बखत आर्थिक सहयोगको घोषणा गरे । खुलेर सहयोग गरे । नेपालसम्म रेल सेवा जोड्न निर्माण कार्यहरू अघि बढाउन निर्देशन दिए । मोदी आएपछि भारतीय सहयोगमा धेरै आयोजनाहरू अघि बढेका छन् । भारतकै सहयोगका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको छ । नेपाली जनताले सधैं उज्यालोमा बस्न पाउने वातावरण निर्माण भएको छ ।
मोदीले जलविद्युत्का ठूला आयोजनाको विकास अघि बढाउन कदम चाले । अरुण तेस्रोको शिलान्यास भइसकेको छ । मोदी आफैं नेपाल आएर आयोजनाको शिलान्यास गरेका थिए । नेपालको जलविद्युत् मात्र नभई आर्थिक विकासमा यो आयोजना कोसेढुंगा साबित हुनेछ । रोकिएका विकास निर्माणलाई तत्काल अघि बढाउने तत्परता देखाए । मोदी एक्सनमा विश्वास गर्ने नेता हुन् भन्ने परिचय दिए । नेपालको आर्थिक समृद्धिमा मोदीको साथ व्यवहारले नै देखिएको छ । मोदीबाट अझ सहयोग पाउने गरी नेपालका तर्फबाट कूटनीतिक पहल हुनु जरुरी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग खुलेर कुरा गरेका थिए । त्यसले दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ भयो । भारत भ्रमणका क्रममा ओलीले मोदीसँग मनको कुरा गरेका थिए । त्यसले सकारात्मक परिणाम दियो । तर, पछिल्लो समयमा त्यसरी नै खुलेर कुराकानी हुन पाएको देखिएन । ओली र मोदीबीच पुनः एकपटक त्यस्तै मन माझेर कुराकानी हुनुपर्छ । त्यस्तो साइत जुर्न सके दुवै देशको हितमा काम हुन सक्छ ।
राष्ट्र« राष्ट्र«बीचको सम्बन्धमा तीतामीठा क्षणहरू आइरहन्छन् । नेपाल–भारत सम्बन्धमा त्यस्ता क्षणहरू नआएका होइनन् । तर, विगतका कमीकमजोरीको समीक्षा हुनुपर्छ । विगतको कमजोरीलाई पाठका रूपमा लिएर जानुपर्छ । पछि फर्केर मात्र अल्मलिएमा अघि बढ्न सकिँदैन । विगतका घटनाबाट पाठ सिकेर अब नेपाल–भारत सम्बन्धलाई गति दिनुपर्छ । दुवै देश आर्थिक समृद्धिको दिशामा बढेका छन् । दुवैले एक अर्काको हितमा लागेर काम गर्नुपर्छ । एक अर्काको हितमा ध्यान दिएर अघि बढ्न सके समृद्धिको यात्रा सहज र सार्थक हुन सक्छ । नेपालसँग प्राकृतिक स्रोत छ र भारतसँग आर्थिक र प्राविधिक सामथ्र्य छ । यसलाई एक अर्काको हितमा सदुपयोग गर्न सक्ने मार्गप्रशस्त छ ।
भारत दक्षिण एसियाको मात्र नभई एसियाकै आर्थिक शक्तिका रूपमा अघि बढिसकेको छ । अर्को दशकको अन्त्यसम्म भारत विश्वकै दोस्रो आर्थिक शक्ति बन्ने देखिँदै छ । चीन विश्वकै आर्थिक शक्तिका रूपमा देखा पर्दै छ । आर्थिक शक्तिहरूको बीचमा रहेको नेपाल सधैं गरिब बनेर रहन सक्दैन । त्यसमाथि यहाँको प्राकृतिक स्रोत विश्वमा विरलै छ । नेपालले राजनीतिक स्थिरता पाइसक्यो । अब विकासको गतिमा निरन्तर लाग्ने वातावरण बनिसकेको छ । नेपालसँग युवाशक्ति उत्तिकै छ । यस्तो अवसर खेर फाल्न हुँदैन । स्रोत र साधनको अधिकतम सदुपयोगका लागि वैदेशिक लगानी र छिमेकीसँगको सम्बन्धको उत्तिकै महत्व रहन्छ । त्यसमाथि तीनतर्फ सीमा जोडिएको र सहज आवतजावत गर्न सकिने खुला सीमा रहेको भारतसँगको सम्बन्ध निकै महत्वपूर्ण हुन्छ ।
भारतसँग मिलेर जानु नेपालकै हितमा छ । त्यसका लागि ओलीले कूटनीतिक क्षमता प्रदर्शन गर्नुपर्छ । मोदी जस्तो केमिस्ट्री मिलेको समकक्षीसँग द्विपक्षीय हितमा कार्ययोजनाबारे छलफल गरी अघि बढ्नुपर्छ । मोदीले पनि नेपालसँगको सम्बन्धबारे सकारात्मक सन्देश प्रवाह गर्न सक्नुपर्छ । लोकसभा चुनावमा नेपालसँगको सम्बन्धबारे जाने सन्देशले लाभ पुग्न सक्छ । मोदीको कूटनीतिक कुशलताबारे भारतभित्र र बाहिर सही सन्देश जाने गरी नेपाललाई सहयोग र साथको भावना प्रदर्शन गर्न सक्नुपर्छ । ओली र मोदीले आआफ्नो राष्ट्र«को हितलाई ध्यानमा राख्दै गर्दा दुई देशबीचको सम्बन्धको संवेदनशीलता र सामथ्र्यलाई मनन गरेर सकारात्मक कदम चाल्नुपर्छ । यसैमा नेपाल र भारतको हित छ ।